
काठमाडौं । रङ्ग पत्रकार फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजानिक गरिएको हो । भुकम्पमा परि विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित रहेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । ट्रेलर सार्वजनिक कार्यक्रममा दयाले आफुलाई फिल्मको कथाले तानेको बताए । ‘मलाइ यो साथी दीपेन्द्र लामा मार्फत प्रस्ताव आयो र कथा सुनेपछि म यसको हिस्सा बन्नुपर्छ भन्ने लाग्यो’ दयाले भने ,’यो हामीले भोगेको समयको कथा हो र यो त्यो समयको समाज हो ।’
कार्यक्रम बोल्दै निर्देशक फूलमान वलले फिल्ले भुकम्पले टुटाएको मनको कथा भन्ने बताए । ‘हाम्रो फिल्मले भुकम्पले भत्काएको घरको कथा भन्दै त्यसले एक परिवारमा पारेको प्रभावलाई दर्साउछ’ निर्देशक वलले भने । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए ।
निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।