कृष्णभीरको विकल्पमा सिउरेनिटार–ज्यामिरेघाट–फिस्लिङ सडक निर्माण अघि बढाइने

रवि रेग्मी, गोरखा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा हेरिएको सिउरेनिटार–ज्यामिरेघाट–फिस्लिङ सडक निर्माण अघि बढाइने भएको छ।

गोरखा सडक आयोजनाले उक्त सडकखण्डको स्तरोन्नतिका लागि आकस्मिक ट्र्याक खोल्ने तथा निर्माणसम्बन्धी काम गर्न बोलपत्र आह्वान गरेको छ। आयोजनाले सार्वजनिक गरेको सूचनाअनुसार करिब १.४ किलोमिटर सडकखण्डमा आकस्मिक ट्र्याक खोल्ने काम दुई प्याकेजमा गर्न ठेक्का आह्वान गरिएको हो।

प्याकेज–१ का लागि १ करोड ७१ लाख २३ हजार ८४० रुपैयाँ ४५ पैसा र प्याकेज–२ का लागि १ करोड ७१ लाख ३ हजार ४६६ रुपैयाँ ४० पैसा लागत अनुमान गरिएको छ। दुवै प्याकेजको कुल लागत अनुमान ३ करोड ४२ लाख २७ हजार रुपैयाँभन्दा बढी रहेको छ।

आयोजनाका अनुसार इच्छुक तथा योग्य निर्माण व्यवसायीले २०८३ भदौ २५ गते साँझ ५ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। प्राप्त बोलपत्र २०८३ भदौ २६ गते बिहान १० बजे गोरखा सडक आयोजनाको कार्यालयमा खोलिनेछ। कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गको आवागमन प्रभावित भएपछि सिउरेनिटार–ज्यामिरेघाट–फिस्लिङ सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न निर्माण अघि बढाउन लागिएको हो।

यस सडकको निर्माणले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा गोरखा, चितवन तथा काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको