अटिजम भएका व्यक्तिको क्षमता र संघर्ष देखाउने चलचित्र ‘पार्वती’

गिता पंगेनी, चितवन । अटिजम भएका व्यक्तिलाई सही ढंगले पहिचान र अवसर दिन सके उनीहरूमा पनि अद्भुत क्षमता हुन सक्छ भन्ने सन्देश चलचित्र ‘पार्वती’ ले दिएको छ।

जनैपूर्णिमाको दिन भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ अहिले देश तथा विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ। चलचित्रले अटिजम भएकी महिला पात्र पार्वती र उनका भाइ किरणबीचको दिदी–भाइको प्रेमसँगै अटिजम भएका व्यक्ति तथा उनीहरूका परिवारले समाजमा भोग्नुपरेको संघर्षलाई पर्दामा उतारेको छ।

अटिजमबारे पर्याप्त जानकारी नहुँदा समाजमा अटिजम भएका व्यक्तिप्रति हुने विभेद र उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको सन्देश चलचित्रले दिन खोजेको छ।

अटिजमसँग संघर्ष गरिरहेकी अभिभावक शकुन्तला अधिकारीले अटिजमबारे सबैलाई जानकारी हुन आवश्यक रहेको बताइन्। अटिजमबारे बुझाइ बढेमा यसप्रति समाजको दृष्टिकोणमा समेत परिवर्तन आउने उनको भनाइ छ।

चलचित्रकी निर्देशक निता ढुंगानाले ‘पार्वती’ आफ्नो सपना भएको बताइन्। उनले यो काल्पनिक कथामा आधारित नभई अटिजम भएका व्यक्ति र उनीहरूका परिवारको जीवन, संघर्ष तथा अवस्थाबारे लामो अध्ययन र अनुसन्धान गरेर चलचित्र निर्माण गरिएको बताइन्।

चलचित्रमा अशोक दर्जी, दीपाश्री निरौला, निता ढुंगाना, सिरु विष्ट, आशा पौडेल, राज पंगेनी, राजेन्द्र नेपाली, राधिका कँडेल, दिप्त प्रकाश र सुवास गजुरेललगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा हरिहर अधिकारीको लगानी रहेको छ।

चलचित्रले पहिलो दिनको कमाइबाट आफ्नो भागमा परेको ११ लाख ३ हजार २ सय ७० रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाइएको छ।

पूर्वी चितवनको पर्सास्थित म्याङ्गो हलका सञ्चालकका अनुसार नेपालीपन बोकेको चलचित्र निर्माण गर्न सकिए दर्शकले त्यसलाई निकै रुचाउने गरेका छन्। ‘पार्वती’ प्रदर्शनका क्रममा देखिएको दर्शकको भीड मेला–महोत्सवजस्तै बनेको उनको भनाइ छ।

‘हरेक मानिसको सपना फरक हुन्छ’ भन्ने सन्देशसमेत चलचित्रले दिएको छ। अटिजम संसारभर देखिने अवस्था हो। यो महिलाको तुलनामा पुरुषमा करिब चार गुणा बढी देखिने बताइन्छ। अटिजम किन हुन्छ भन्ने यसको निश्चित कारण भने अझै पूर्ण रूपमा पत्ता लागिसकेको छैन।

नेपाल सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा अटिजम स्कुल सञ्चालन गर्ने तयारी गरेको र त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्।

चलचित्र ‘पार्वती’ ले हरेक बच्चाको आफ्नै सपना हुन्छ, तर त्यो सपना बुझ्ने परिवार र समाज नहुँदा उनीहरूले संघर्ष गर्नुपर्छ भन्ने विषयलाई मुख्य रूपमा उठाएको छ। अटिजम भएका व्यक्तिलाई कमजोरका रूपमा हेर्नुभन्दा उनीहरूको क्षमता पहिचान गरी अवसर दिनुपर्ने सन्देश चलचित्रले दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको