गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ बेल्टारस्थित श्री प्रजाज्योति आधारभूत विद्यालयमा सोमबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।
तारा नमस्ते फाउन्डेसनको आयोजना तथा गण्डकी गाउँपालिका–७ को समन्वयमा भएको शिविरमा सिद्धि गणेश हेल्थ क्लिनिक, भक्तपुरको प्राविधिक सहयोग रहेको थियो। शिविरमा विद्यालयका बालबालिका, शिक्षक–शिक्षिका तथा स्थानीय समुदाय गरी कुल १५३ जनाले दन्त स्वास्थ्यसम्बन्धी सेवा लिएका थिए।


तारा नमस्ते फाउन्डेसनका कोर्डिनेटर राजन पुडासैनीका अनुसार सेवा लिनेमा विद्यालयका १०३ जना बालबालिका, ११ जना शिक्षक–शिक्षिका र समुदायका ३९ जना रहेका थिए।
शिविरमा निःशुल्क दाँत परीक्षण तथा दन्त परामर्श प्रदान गर्नुका साथै सहभागीलाई मञ्जन र ब्रससमेत वितरण गरिएको थियो। त्यस्तै, किराले खाएका, हल्लिएका तथा बिग्रिएका दाँतको आवश्यकताअनुसार उपचार तथा १४ जनाको बिग्रिएको दाँत निकालिएको पुडासैनीले बताए।


शिविरमा डेन्टल हाइजिनिस्ट सीता इमुरु, डा. रेश्मा नायाभारी लगायतको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।
कार्यक्रममा तारा नमस्ते फाउन्डेसनका अध्यक्ष निल शाह, कोषाध्यक्ष अभिष्णव शर्मा, संस्थापक सदस्य अशेष खनाल, वडा सदस्य कल्पना चेपाङ तथा प्रजावस्ती सामुदायिक स्वास्थ्य एकाइ बल्तारका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
ग्रामीण तथा दुर्गम क्षेत्रमा दन्त स्वास्थ्यसम्बन्धी पहुँच विस्तार गर्ने, समुदायमा दाँत तथा मुखको स्वास्थ्यप्रति सचेतना बढाउने र आवश्यक उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
शिविरमा श्री प्रजाज्योति आधारभूत विद्यालय, श्री शिव आधारभूत विद्यालय, शिक्षक तथा स्थानीय समुदायको समेत सहकार्य रहेको थियो।









