गोरखा । गण्डकी गाउँपालिका–७ र बेनिघाट–रोराङ गाउँपालिका–७ लाई जोड्ने धबादीघाट मोटरेबल पुल निर्माणका लागि आवश्यक प्रारम्भिक तयारीका अधिकांश काम सम्पन्न भएका छन्।
गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’का अनुसार पुल निर्माण प्रक्रिया अघि बढाउन दुवै गाउँपालिकाबीच आवश्यक समन्वय तथा सहजीकरणका कार्य पूरा भएका छन्। स्थानीयवासी, जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयको उपस्थितिमा छलफल तथा बैठक सम्पन्न भइसकेको छ भने पुलको पहुँच मार्ग निर्माणको काम सम्बन्धित गाउँपालिकाबाट सम्पन्न गरिएको छ।
पुल निर्माणका लागि आवश्यक जग्गाको मञ्जुरीनामा सम्बन्धित वडा अध्यक्षहरूको रोहबरमा तयार गरी गाउँपालिकामा बुझाउने कार्य समेत सकिएको छ। साथै, पूर्वाधार विकास कार्यालयबाट आवश्यक सहजीकरणका लागि दुवै गाउँपालिकालाई पत्राचार प्राप्त भइसकेको छ।
पुल निर्माणको सम्भाव्यता अध्ययनका लागि दुई जना प्राविधिकबाट प्रारम्भिक सर्वेक्षणको कार्य सम्पन्न भएको छ।
दुवै गाउँपालिकाका पत्रसहित आवश्यक कागजातहरू आज विद्युतीय माध्यमबाट सम्बन्धित निकायमा पठाउने कार्य पनि सम्पन्न भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो।
स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको धबादीघाट मोटरेबल पुल निर्माण भएपछि गण्डकी गाउँपालिका र बेनिघाट–रोराङ गाउँपालिकाबीचको आवागमन सहज हुने, साथै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ। तस्विर Ai बाट साभार









