काठमाडौं । विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो।
प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ। मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ।
यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ। त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १६ भव्य रङ्गशालामा रहने छ।
विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ।
कबनबचmबतजब अझभलत
तबतब भ ख
mबजबबिहmष् द्यबलप
विश्वकप २००२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए।
विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन्।
३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ। त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान ग गर्नेछन्।
फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र कप भेर्डे, कुराकाओ, उज्वेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन्।
यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ। विश्वकपमा कुल १०४ खेल हुन्छन्।
अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन्।
यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डालास, ह्युस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ।
मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टर्री र ग्वाडालजारामा कुल १३ खेल खेलिने छ। क्यानडाको भागमा पनि १३ खेल परेका छन्। ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन्।
मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ। मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो। क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ।
विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ।
जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन
यति ठूलो मञ्चमा नेमार, किलियन एम्बापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हल्यान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ।
तर यसपालि पनि चर्चा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोकै हुने पक्का छ। यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुँदै छ। यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन्।
यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन्। फ्रान्सका ह्युगो इकितिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा कँभित्सखेलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन्।
विश्वकपमा अत्यधिक गर्मी पनि चुनौती हुने छ। यस विश्वकपमा कुल पुरस्कार राशि ६५१ मिलियन डलर रहेको छ।
यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो। यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ।









