प्रसिद्ध सिद्धस्थान गुफा संरक्षणमा स्थानीयको सक्रियता, बजेट विनियोजन गर्ने गाउँपालिका अध्यक्षको प्रतिबद्धता

गोरखा ।  गण्डकी गाउँपालिका–७ दर्शनडाँडास्थित प्रसिद्ध सिद्धस्थान गुफाको संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकासका लागि आयोजित “प्रसिद्ध सिद्धस्थान गुफा पर्यटन संरक्षण कार्यक्रम” सम्पन्न भएको छ।
जलदेवी कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’, वडा अध्यक्षहरू पवन बयालकोटी, तुलसी रेग्मीलगायत जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सिद्धस्थान गुफा क्षेत्रको संरक्षण, सरसफाइ, पर्यटन प्रवर्द्धन तथा स्थानीय विकासका सम्भावनाबारे छलफल गरिएको थियो। सहभागीहरूले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र विकासका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तिमिल्सिनाले सिद्धस्थान गुफा गण्डकी गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गुफा क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले स्थानीय समुदायको सक्रिय सहभागितासँगै सिद्धस्थान गुफालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने बताए।

सहभागीहरूले गुफा क्षेत्रको संरक्षण, पहुँच मार्ग तथा पदमार्ग निर्माण, सरसफाइ व्यवस्थापन र प्रभावकारी प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए।

गाउँपालिकाका रोजगार शाखा प्रमुख लक्ष्मण रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले सिद्धस्थान गुफाको संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकासमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक जलदेवी कृषक समूहले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको