चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् ।
नमुनाको जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
मृतक नमुना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुवा आमा भने सकुसल छन ।









