चितवन । कालिका नगरपालिकाले नगरप्रमुखका लागि गाडी खरिद गर्न छुट्याइएको बजेटबाट शववाहन खरिद गरेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखसहित नगरपालिकाका तीन वटा सवारी साधन जलेपछि नगरपालिकासँग हाल प्रयोगयोग्य गाडी छैन ।
त्यसपछि नगरप्रमुख विनोद रेग्मी स्वयं मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।नगरप्रमुख रेग्मीका अनुसार नगरप्रमुखको गाडी खरिदका लागि विनियोजन गरिएको बजेटबाट ३१ लाख रुपैयाँ लागतमा शववाहन खरिद गरिएको हो ।
“नगरपालिकामा अहिले एउटा पनि गाडी छैन । नगरप्रमुखका लागि गाडी किन्ने बजेट छुट्याइएको थियो । तर नागरिकको आवश्यकता ठूलो देखिएकाले त्यही बजेटबाट शववाहन खरिद गर्ने निर्णय गर्यौं,” रेग्मीले भने ।
उनका अनुसार कालिका नगरपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारले आफन्तको मृत्यु भएपछि शव अन्त्येष्टिका लागि लैजानसमेत सवारी खर्च जुटाउन कठिनाइ भोग्दै आएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले शववाहन सञ्चालनमा ल्याइएको हो ।
विदेश, विशेषगरी खाडी मुलुकबाट काठमाडौँसम्म ल्याइएका शवलाई गृह जिल्ला ल्याउनसमेत धेरै परिवारले आर्थिक र यातायात समस्या झेल्नुपर्ने अवस्था रहेको भन्दै नगरपालिकाले नागरिकको संवेदनशील आवश्यकतालाई प्राथमिकतामा राखेको जनाएको छ । नगरपालिकाको यो निर्णयलाई स्थानीयवासीले जनप्रतिनिधिले सुविधा भन्दा सेवा रोजेको उदाहरणका रूपमा समेत हेरेका छन् ।









