 
											
							गोरखा । गण्डकी गाउँपालिका–२, ताङ्लीचोकस्थित ऐतिहासिक र धार्मिक महत्वको महादेव मन्दिर परिसरमा आगामी कार्तिक १५ गते बिहीबार “बृहत् सांस्कृतिक तथा नृत्य प्रतियोगिता कार्यक्रम (महादेव एकादशी मेला–२०८२)” आयोजना हुने भएको छ।
गण्डकी गाउँपालिका–२ नं वडा कार्यालयका अनुसार स्थानीय संस्कृति, परम्परा र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। मेलामा विभिन्न समूहबीच सांस्कृतिक झाँकी र नृत्य प्रतियोगिता हुनेछ।
प्रतियोगितामा प्रथम पुरस्कार रु.१५,०००, द्वितीय पुरस्कार रु. १०,०००, तृतीय पुरस्कार रु. ५,००० र सान्त्वना पुरस्कार रु. ३,००० व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूले कार्तिक १४ गते बेलुका ५ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्। फोनमार्फत पनि दर्ता गर्न सकिने वडा कार्यालयले जनाएको छ।
कार्यक्रम बिहान ११ बजे ताङ्लीचोक महादेव मन्दिर परिसरमा सुरु हुनेछ। वडा अध्यक्ष यम बहादुर थापाका अनुसार यस बृहत् सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृतिको संरक्षण र सामुदायिक एकतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।



 
								


 
										 
										 
												 
												 
												 
												 
												 
												




 
											 
											 
											 
								 
								 
								 
								