 
											
							गोरखा । गण्डकी गाउँपालिका–८ बेनीगाउँस्थित ऐतिहासिक मुन्थला देवी मन्दिरमा मंसिर पूर्णिमाको अवसरमा यस वर्ष पनि भव्यरूपमा मुन्थला जात्रा लाग्ने भएको छ।

मुन्थला युवा क्लबको आयोजनामा र गण्डकी गाउँपालिका तथा गण्डकी सांस्कृतिक समाजको सहआयोजनामा यहिँ कार्तिक १८ र १९ गते आयोजना हुने सो जात्रामा पञ्चे बाजा, फूलको डोलीसहित मन्दिर परिक्रमा, स्थानीय झाँकी प्रदर्शन, नृत्य प्रतियोगिता, र ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने युवा क्लबका अध्यक्ष विशाल गुरुङले बताए ।

उनले भने, “जात्रालाई स्थानीयले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छ्न । परापूर्वकालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष मनाइँदै आएको मुन्थला जात्रा धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीक मानिन्छ। उक्त अवसरमा देशका विभिन्न स्थानबाट भक्तजनहरू मुन्थला देवीको दर्शन र पूजाका लागि आउने गर्छन्।”
अध्यक्ष गुरुङका अनुसार, मुन्थला देवीको दर्शन गर्नाले पाप मोचन भई मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ। उनले सम्पूर्ण भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका समेत छन्।




 
								


 
										 
										 
												 
												 
												 
												 
												 
												




 
											 
											 
											 
								 
								 
								 
								