गोरखा । गोरखाको गण्डकी गाउँपालिका अन्तर्गतको पशु सेवा शाखाले आजदेखि थप सेवा सहितको आधारभूत प्रयोगशाला सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले पशुपालक किसानहरूलाई सहज र वैज्ञानिक आधारमा परीक्षण सेवा प्रदान गर्ने लक्ष्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।
अध्यक्ष तिमिल्सिनाले प्रयोगशाला सञ्चालनमा आएसँगै पशुपालक किसानहरूले स्थानीय स्तरमै सहज र सस्तो मूल्यमा गुणस्तरीय सेवा प्राप्त गर्ने बताए। साथै, उनले पशुपन्छीको रोग पहिचान र रोकथाममा समेत प्रभावकारी टेवा पुग्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंका अनुसार प्रयोगशालामा आजदेखि पशुको गोबर, रगत, पिसाब लगायतका नमुनाहरू परीक्षण गरिनेछ। त्यसैगरी विभिन्न पशु तथा पन्छी रोग परीक्षण (पोस्टमार्टम विधिबाट),थुनेलो परीक्षण
र अन्य आवश्यक प्राविधिक परीक्षण तथा परामर्श सेवा दिइने प्रमुख चापागाईंले बताए ।
परीक्षण सेवा हरेक हप्ता सोमबार र बिहीबार मात्र उपलब्ध हुने पनि चापागाईंले जानकारी दिए।
गाउँपालिकाले यसअघि पनि दुहुना गाई र भैंसी पालक किसानलाई क्रमशः ५ हजार र १० हजार दिने नीति ल्याएको छ । भने तरकारीमा प्रतीकिलो २ रुपैयाँ र मासुमा प्रतिकिलो १० रुपैयाँ अनुदान दिदै आइरहेको छ ।











