गण्डकी गाउँपालिकामा चेपाङ किसानको उत्पादन बजारसम्म पुर्‍याउन रोपवे निर्माण

गोरखा । गण्डकी गाउँपालिका वडा नं ६ को हिक्लुङ र थुम्काका किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउन रोपवे निर्माण गर्न लागिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसंग साझेदारी गरी विद्युतीय रोपवे निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले जानकारी दिए ।

चेपाङ समुदायको मात्र बसोबास रहेको हिक्लुङ र थुम्काबाट पृथ्वीराजमार्गको हिक्लुङघाटसम्म रोपवे निर्माण गर्न लागेको उनले जानकारी दिए । ‘यहाँका चेपाङ समुदाय असाध्यै मिहिनेती छन् । उनीहरुको मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । उनीहरुले बारीमा उत्पादन भएको मौसमी, बेमौसमी तरकारी डोकोमा बोकेर हाइवेसम्म झार्ने गरेका छन्’, गाउँपालिका प्रमुख तिमिल्सिनाले भने, ‘गाउँमा सडक निर्माण गर्न प्रयास गरेको हो तर, भिरालो जमिन भएकाले यहाँसम्म सडक निर्माण गर्न धेरै कठिन भयो । गाउँ पनि जोखिम हुने भयो । त्यसैले यो नै सबैभन्दा उत्तम विकल्प भन्ने ठानेर रोपवे बनाउन थालेका हौँ ।’

रोपवेमा तरकारी ढुवानी गर्न पाएमा चेपाङ किसानहरुलाई ठूलो राहत हुने उनले विश्वास व्यक्त गरे । लागत साझेदारी कार्यक्रमअन्तर्गत एक करोडको लागतमा रोपवे निर्माण गर्न लागिएको हो । ‘गाउँपालिकाको ६० प्रतिशत र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा काम भइरहेको छ’, गाउँपालिकाको प्राविधिक शाखाका ओम शाहले भने, ‘असोज महिनाभित्र निर्माण गरिसक्ने हाम्रो लक्ष्य हो । काम धमाधम भइरहेको छ ।’

उनका अनुसार सो रोपवेको लम्बाइ ६३० मिटर रहेको छ । चितवनको जिटी मेसिन प्रालि कम्पनीले रोपवेको निर्माण गरिरहेको प्राविधिक शाखाका शाहले जानकारी दिए । बिगत ३० बर्षदेखि यहाँका चेपाङ किसानहरु तरकारी खेतीतर्फ उन्मुख छन् । उनीहरुको उत्पादनलाई बजारसम्म पुर्‍याउन यसअघि यहाँ २०६८ सालमा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । सो प्रविधि विग्रिएपछि अहिले विद्युतबाट चल्ने रोपवे निर्माण गर्न लागिएको वडा नं. ७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए । आजको दरौदी दैनिकमा यो समाचार छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको