
गोरखा । गण्डकी गाउँपालिका–७ शित्तलडाँडामा अवस्थित श्री शिव आधारभूत विद्यालयमा अक्षयकोष स्थापना तथा छात्रवृत्ति र पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र दीर्घकालीन सहयोगका लागि समाजसेवी मन्जु रेग्मीले रू. २५,५२५ र दण्डपानी रेग्मीले रू. २५,१५५ अक्षयकोषमा योगदान गरेका छन्। आज एक कार्यक्रमकाबीच मन्जु रेग्मी र दण्डपानी रेग्मीका छोरा ज्ञानेन्द्र रेग्मीले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन ।
दाताहरूको उक्त योगदान विद्यालयको शैक्षिक र भौतिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी गाउँपालिका–७ का वडाध्यक्ष तुलसी रेग्मी रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष भरत रेग्मीले गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले अक्षयकोष स्थापनाले विद्यालयको दीर्घकालीन आवश्यकताहरू पूर्तिमा सहयोग पुग्ने बताए। उनले दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा समुदायको सहभागिता आवश्यक रहेकोमा जोड दिए।
सोही अवसरमा विद्यालयका विभिन्न तहमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति र पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।