
गोरखा । गण्डकी गाउँपालिका वडा नं ६ र ७ को सिमानामा अवस्थित कौदी खोलामा रहेको सुन्दर र आकर्षक कौदी झरनाको संरक्षण, प्रचारप्रसार तथा सम्बर्द्धनका लागि गाउँपालिकाले चासो देखाएको छ।
पृथ्वी राजमार्गसँग जोडिएको कौदी झोलुङ्गे पुल हुँदै केवल १० मिनेटको पैदल यात्रा पछि पुग्न सकिने यस झरनालाई शुक्रवार गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’, वडा नं ६ का अध्यक्ष तुल बहादुर गुरुङ र वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीले संयुक्त रूपमा अनुगमन गरेका थिए।
अनुगमनका क्रममा स्थानीय समुदायसँग झरनालाई पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावनाका विषयमा छलफल गरिएको थियो। अन्य कर्मचारीको समेत उपस्थिति रहेको छलफलमा झरनाको पूर्वाधार विकास, पहुँच सजिलो बनाउने उपाय र प्रचारप्रसारको आवश्यकता औँल्याइएको थियो।
गाउँपालिकाले झरनाको सौन्दर्य तथा सम्भावनालाई सबैले एक पटक अनुभूत गर्न आग्रह गर्दै सहयोगका लागि स्थानीय, पर्यटक र सम्बन्धित निकायलाई अपिल गरेको छ।
गण्डकी गाउँपालिकाले निकट भविष्यमै झरनालाई आधिकारिक रूपमा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कार्ययोजना सार्वजनिक गर्ने तयारी समेत गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताए ।