
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १८ औं गाउँसभामा आज पालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ ले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
“सामाजिक न्याय सहितको दिगो विकासको चाहना कृषि, उद्योग, पर्यटन प्रवर्द्धन गण्डकीको योजना” भन्ने नाराका साथ पालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषितर्फ उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिई थप विस्तारिकरण तथा प्रचार गर्ने र प्राङगारिक मल उत्पादन एवं अर्गानिक खेती प्रवर्द्धन सम्बन्धि कार्यक्रम संचालन गर्ने पालिकाको योजना छ ।
रैथाने तथा स्थानीय बाली र पशुपन्छीको संरक्षण, सम्वर्दन र प्रवर्द्धन एवम उपयोग सम्बन्धि कार्यक्रम प्राथमिकताका साथ संचालन गरिने नीति ल्याएको छ । सहकारी व्यवस्थापनतर्फ “एक सहकारी एक व्यवसायिक उत्पादन” र “गाउँपालिका र सहकारी उत्पादन र बजारीकरणमा साझेदारी” कार्यक्रम समेत गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
गाउँपालिकाले पशुतर्फ पशु विमा कार्यक्रम संचालन गर्ने नीति लिएको छ । श्रम,रोजगार तथा उद्यमतर्फ “आफ्नै सिप,आफ्नै काम नखाऔं है खाडीको घाम” भन्ने अभियान मार्फत युवा जनशक्तिलाई सिपमुलक तालिम, उद्यामसिलता विकास तथा प्रविधिसहितको स्वरोजगार हुने र ” युवा उद्यमी सम्मान तथा प्रोत्साहन” कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।
पर्यटनतर्फ भिजिट भैरवी र महादेवडाँडा अभियान संचालन गर्ने कार्यक्रम समेटिएको छ । शिक्षा,युवा तथा खेलकुदतर्फ एक वडा, एक माध्यमिक विद्यालयको नीति ल्याएको छ। स्वास्थ्य तथा पोषणतर्फ ६ महिनासम्म सुत्केरी पोषण खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ “सानै छु बढ्न देउ, बालविवाह होइन पढ्न देउ” भन्ने नारालाई सफल बनाउन बाल विवाह मुक्त पालिका घोषणा गर्न बाल विवाहविरुद्धको कार्यक्रम संचालन गर्ने नीति ल्याएको छ ।
पुर्वधार विकास तर्फ गाउँपालिकाबाट भौतिक पुर्वधारको कार्यमा रु २ लाख र वडास्तरबाट रु १ लाखभन्दा साना बजेटको योजना तर्जुमा नगर्ने व्यवस्था पालिकाले लिएको छ । वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ “सुन्दर र हरियाली सडक” बनाउने र स्थानीय आपतकालीन कार्यसंचालन केन्द्रको स्थापना गरिने उल्लेख गरिएको छ ।
नदिजन्य पदार्थको चोरी निकासीको सुचना दिने व्यक्तिलाई प्राप्त जरिवानाको २० प्रतिशत पुरस्कार प्रदान गरिने पालिकाले नीति लिएको छ ।
नीति तथा कार्यक्रममाथि छलफलगरि आजै बहुमतले पारित समेत गरिएको वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए । आजको गाउँसभामा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिको भने उपस्थित भएका थिएन्न । गाउँपालिकाले असार ९ गते बजेट ल्याउँने जनाएको छ ।
यस्ता छ्न आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यहरु :