गोरखामा चोरीका दुई मोटरसाइकलसहित एक युवक पक्राउ

गोरखा । गोरखा जिल्लामा मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्दै आएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा वारपाक सुलिकोट गाउँपालिका–४ स्थायी घर भई हाल अजिरकोट गाउँपालिका–४ माउसुलीमा डेरा गरी बस्दै आएका १८ वर्षीय संजिव तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा तामाङको डेरामा छापा मार्दा चोरी गरिएका दुईवटा मोटरसाइकल फेला परेको हो।

फेला परेका मोटरसाइकलमध्ये एउटा नम्बर प्लेट नभएको १५० सिसिको पल्सर (इन्जिन नं: DH2WGG42195, च्यासिस नं: MDZA1126GW27288) र अर्को बा ६४ प ५६६६ नम्बर प्लेट भएको २२० सिसिको रातो–कालो पल्सर मोटरसाइकल (इन्जिन नं: DKYCJC49838, च्यासिस नं: MD2A13EY6JCG50017) रहेका छन्।

तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। आज मिति २०८२ साल जेठ ४ गते गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले सस्तो मूल्यमा पाइने लोभमा परी कागजपत्र नभएका सवारीसाधन नकिन्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले सवारीसाधन खरिद गर्नुअघि सम्बन्धित कागजपत्र यकिन गरेर मात्र नामसारी गर्न सुझाव दिएका छन्।

साथै, अवैध सवारीसाधन प्रयोग गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको