रमेश रेग्मी, गोरखा । गण्डकी गाउँपालिका, गोरखाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) र उनका पिए जीवन गुरुङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ । उनिहरु विरुद्ध नगरपालिकाको १० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा हिजो आयोगको दर्ता नं.सी००२१८०३ मा दर्ता भएको आयोग श्रोतले जनाएको छ ।
पालिका अध्यक्ष तिमिल्सिना र उनका पिए गुरुङले मिलेमतोमा अकुत सम्पती कमाएको आरोप लागेको छ । यस अगाडी पनि पिए गुरुङ विरुद्ध अकुत सम्पती कमाएको आरोपमा अख्तियार मै उजुरी परेको थियो । अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा गुरुङलाई करार पिए पदमा नियुक्ति गरि नगर भित्रका हरेक बिकास निर्माण र खरिद कार्यमा सेटिंग गर्ने जिम्मा दिएका थिए । तिमिल्सिना र गुरुङ विरुद्ध अख्तियार कार्यालयमा परेको २ पाना लामो र १७ बुद्धे उजुरीमा उनिहरुले भ्रष्टाचार गरेको फेहरिस्ता उल्लेख गरिएको छ । पालिका अध्यक्ष तिमिल्सिना र पिए गुरुङले हरेक बिकास निर्माण र बजेटहरुमा ठेकेदार संगको सेटिंग गरि रकम लिने, ठेक्का पारिदिने, कमसल कामको पनि रकम भुक्तानी दिएको पालिका श्रोतले जानकारी दिएको छ ।
यस अगाडि पनि सरकारी रकम दुरुपयोग, इन्धन दुरुपयोग गरेको, आफ्ना नातेदार र पार्टी निकटका ब्यक्ती हरुलाई ठेक्का मिलाईदिने, उपभोक्ता समितिमा राखेर फाईदा लिने गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको भन्दै विभिन्न संचार माध्यममा समाचारहरु सार्वजनिक भएका थिए ।
पालिका अध्यक्ष तिमिल्सिना नेकपा माओबादी केन्द्रका गोरखा जिल्ला स्तरिय नेता हुन भने पिए गुरुङ पनि सोही पार्टीका पालिकाको नेता हुन ।









