
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आज स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन यही फागुन २७ गतेका लागि तोकिएको बताए। उनका अनुसार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म तोकिएको छ।
सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दावी विरोध फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ। त्रिविले मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ।