
गोरखा । पोषण सुधारका लागि गण्डकी गाउँपालिकाले सुत्केरी महिलालाई ६ महिनासम्म मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने भएको छ । शुक्रबार सम्पन्न पालिकाको १७औँ गाउँसभाबाट सुत्केरी महिलालाई मासिक रूपमा रकम उपलब्ध गराउने निर्णय भएको हो ।
मासिक रुपमा सुत्केरी महिलालाई चार हजारका दरले रकम उपलब्ध गरराउने निर्णय भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल रेग्मीले बताए । पोषण सुधारका लागि रकम उपलब्ध गराउन लागिएको उनले बताए । ‘गाउँपालिकाले उपलब्ध गराएको रकमबाट पोषिलो खानेकुरा खानुहुन्छ, पोषणमा सुधार हुन्छ भन्ने अपेक्षा हो,’ उनले भने ।
गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने महिलालाई रकम उपलब्ध गराउने पनि उनले बताए । सुत्केरी महिलालाई रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २२ लाख रुपैयाँ छुट्याइएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘बच्चाहरुमा कुपोषणको समस्या देखियो, पोषिलो खानुकुरा खानका लागि रकम उपलब्ध गराउन लागेका हौं,’ उनले भने, ‘अहिले २२ लाख छुट्याएका छौं, अपुग भए थप हुन्छ ।’