चितवन । कालिका नगरपालिकाले उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा आधारभूत शिक्षा परीक्षा, माध्यमिक शिक्षा परीक्षा (एसइई)र कक्षा १२ को बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थीलाई नगद चार हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरेको हो ।
यसैबीच नगरक्षेत्रभित्रका ३ वटा विद्यालयलाई समेत नगरपालिकाले सम्मान गरेको छ । दोसल्लासहित प्रमाणपत्र र मायाको चिनोले सम्मान गरेको हो ।नगरक्षेत्रभित्रको विद्यालयहरुमा उत्कृट अंक ल्याएर पास गराउन सफल तीनवटा विद्यालयलाई सम्मान गरेको हो । सम्मानितहुनेमा कालिका वडा नं. १ स्थित शमीपुर माध्यमिक विद्यालय, कालिका वडा ४ स्थित चित्रवन स्कुल, र वडा नं. ५ स्थित भीमोदय नमुना माध्यमिक विद्यालय रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले सबैको सहकार्यले मात्रै शैक्षिक क्षेत्रको विकासहुनेमा जोड दिनुभयो । आगामी दिनमा नगरक्षेत्रभित्रका विद्यालयहरुले अझै थप मेहनतगर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अभिभावकहरुको तर्फवाट कृष्णप्रसाद गजुरेलले बोल्नुभएको थियो ।
यस्तै सम्मानितहुने विद्यार्थीहरुको तर्फवाट चित्रवन स्कुलकी रेश्मा पोख्रेल र शमीपुर माध्यमिक विद्यालयका प्रतिक चालिसेले अभिभावक, शिक्षकहरुको साथ स्पोर्टका कारण आफुहरुले राम्रो जिपिए ल्याएर पास हुन सफल भएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, कालिका वडा न.. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछाने लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका पद्धाधिकारीहरु, शिक्षक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिहरुको उपस्थ्तिी थियो ।
शिक्षा अधिकृत चन्द्र शर्माले संचालनगर्नुभएको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख गंगाधर रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सामाजिक विकास समिति प्रमुख एवम् वडा नं ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।