चितवन । चितवनको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले चितवनमा पहिलोपटक कुहिनोको जोर्नी सफल प्रत्यारोपण गरेको छ । यो प्रत्यारोपण नेपाल कै दोस्रो र काठमाडौंबाहिरको पहिलो हो ।
गत भदौ १६ गते अस्पतालका प्रमुख अर्थोपेडिक सर्जन डा. प्रमोद लामिछाने र अर्थोपेडिक सर्जन डा. अनिल भट्टराईलगायत चिकित्सक एवम स्वास्थ्यकर्मीको टोलीले नवलपरासीका ५५ वर्षीय पुरुषको कुहिनोको जोर्नी सफल प्रत्यारोपण गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।डा. प्रमोद लामिछानेका अनुसार कुहिनोको जोर्नी प्रत्यारोपण जटिल र महँगो हुन्छ । “अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कुहिनोको जोर्नी प्रत्यारोपण जटिल हुन्छ, डा लामिछानेले भने अरु जोर्नी प्रत्यारोपणको तुलनामा यो निकै कम संख्यामा हुने अपरेसन मानिन्छ । उनले भने’आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने अन्तर्राष्ट्रिय सिद्धान्त र अभ्यासअनुसार हामीले कुहिनोको जोर्नी प्रत्यारोपण सफलताका साथ गरेका हौँ ।
बिरामी आज डिस्चार्ज भएर घर जाँदै छ। बिरामीका श्रीमती निर्मला जोशीले आफ्नो श्रीमानलाई पहिलाको तुलनामा निकै राम्रो भएको बताइन । उनिले उपचारमा खटिनु भएका सम्पुर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरिन । डा अनिल भट्टराईले नेपाली चिकित्सक र अस्पतालका प्रविधी पनि संसारका अन्य विकसित देशको सरह भइसकेको र नेपाली नागरिकले पाउँने उपचार अन्य देशको सरह भइसकेको बताए । एलाईभ हस्पिटलले विगत १३ वर्षदेखि भरतपुरमा रहि चोटपटक तथा दुर्घटनामा परेका बिरामीको निरन्तर सेवा दिँदै आइरहेको छ । हस्पिटलले महिनामा १५० भन्दा बढी र वर्षमा २ हजारभन्दा जनालाई दुर्घटनाबाट हुने चोटपटक तथा मेरुदण्डको अपरेसन, घुँडा र कट्टीको जोर्नी प्रत्यारोपण, दुरविनबाट हुने घुँडा र कुमको अपरेसनलगायत जटिल अपरेसन गर्दछ ।