सतिसराज न्यौपाने । वि.सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरुले पाठ्यक्रममा आधुनिक विषयहरु थप गर्नुपर्ने मागसहित गरेको ‘जयतु संस्कृतम्’ आन्दोलन नै नेपालको शैक्षिक आन्दोलनको प्रस्थानविन्दु हो । नेपालमा हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरुमध्ये नेवि संघ सबैभन्दा पुरानो विद्यार्थी संगठन हो, जसको आफ्नै गर्विलो र विरासतपूर्ण इतिहास छ । तत्कालीन समयमा दलीय राजनीति प्रतिबन्धित थियो । वाक् स्वतन्त्रता खोसिएको, शान्तिपूर्ण आन्दोलन गर्न र संगठित हुन प्रतिबन्ध लगाइएको अवस्था थियो । राजा महेन्द्रको निरंकुशताका बीचमा नेपाली कांग्रेस प्रजातन्त्रका लागि लडिरहेको थियो । यस्तो विषम परिस्थितिमा लोकतन्त्र र नागरिक अधिकारको पेचिलो लडाइँ लड्नका लागि युवा विद्यार्थीहरुलाई गोलबद्ध गर्ने उद्देश्यका साथ वि.सं. २०२७ वैशाख ६ गते नेवि संघको स्थापना भएको थियो । तत्कालीन कांग्रेस सभापति विपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा नेवि संघ स्थापना भएको थियो ।
तत्कालीन पञ्चायती निरंकुशताका विरुद्ध होस् वा दोस्रो जनआन्दोलनका आँधी तुफानका क्रममा होस्, सडकका अग्र मोर्चामा नेवि संघले कलम र मसाल अंकित झण्डा फहराइरहेको थियो । लोकतन्त्र प्राप्तिका लागि मात्र नभएर नेपाली विद्यार्थीका शैक्षिक मुद्दामा समेत नेवि संघको भूमिका विगतदेखि नै महत्त्वपूर्ण रहेको तथ्य जगजाहेर नै छ । आजका पार्टी सभापति शेरबहादुर देउवादेखि चर्चित कांग्रेस युवा नेताहरु विश्वप्रकाश शर्मा, गगन थापा,रन्जित कर्ण,गुरुराज घिमिरे,प्रदीप पौडेल नैनसिंह महर,राजिव ढुङ्गाना लगायत थुप्रै नेताहरु नेवि संघकै नेतृत्वबाट राजनीतिको मूलधारमा प्रवेश गरेको तथ्य पनि स्पष्टै छ।
नेविसंघ पार्टीका नेता उत्पादन गर्ने कारखाना हो । नेता उत्पादन हुने भएकाले आफ्नो प्रभावका राख्न खोज्ने र नेताको घेरा बनाउन खोज्ने अभ्यास हुँदै आयो,’ , ‘यसकारण नेविसंघमा आफ्नो गुट बलियो नभएसम्म महाधिवेशन गराउन नखोज्ने । गुटबन्दीको सोझो प्रभाव, नेविसंघमा पार्ने र व्यक्तिगत प्रभावमा नेविसंघ चलाउन खोजेपछि निर्वाचित सभापतिलाई महाधिवेशन गर्न नसक्ने बनाइयो ।’
महासमिति बैठकमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका भ्रातृ संस्थाको वर्तमान परिस्थितिको समीक्षा भई आवधिक अधिवेशन सुनिश्चित गर्न आवाज मुखरित भए भ्रातृ संस्थाको परिचालनमा सुधार हुने नीति बन्ने ठाउँ रहला, अन्यथा महासमिति आमयुवा, विद्यार्थीका लागि कर्मकाण्डी मात्र बन्ने देखिन्छ । पार्टीले दिएको जिम्मेवारीबमोजिम समयसीमाभित्र वैधानिक अधिवेशन गराउन नसक्ने भ्रातृ संस्थामाथि पार्टीको अधिकारसम्पन्न समिति बनाएर हस्तक्षेप गर्न सक्ने संयन्त्र बनाउने वैधानिक व्यवस्था गर्न जरुरी देखिन्छ ।
लेखक न्यौपाने नेबिसंघका केन्द्रिय सदस्य हुन ।










