गोरखा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल गोरखा शाखाले पालुङटारमा “स्थानीय सरकार र मिडिया” बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज पालुङटार नगरपालिकाको सभाहलमा स्थानीय सरकारका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जिल्लामा क्रियाशिल पत्रकारहरु र सरोकारवाला निकायहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै स्थानीय सरकार र मिडियाकर्मीहरुबीच रहँदै आएको दुरी घटाउन पालङटार नगरपालिका तयार रहेको बताउनुभएको छ । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिका मिडियाहरुको संस्थागत विकास र मिडियाकर्मीको क्षमता अभिवृद्धिका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्दै जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सोही अनुसार कार्यक्रम बनाएर प्रस्तुत हुन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चिन्तनले मिडियाकर्मीहरु पालिकाले गरेका राम्रा कामहरुको कुरा लेख्ने भन्दा पनि कहाँ कमजोरी छ, त्यस माथी खेल्ने गरेको गुनासो व्यक्त गर्नुभयो ।

सोही अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाज नकारात्मक दिशा तर्फ मात्र केन्द्रित रहेको भन्दै मिडियाले सकारात्मक भुमिका खेल्नु पर्ने बताउनुभयो । लोकतन्त्रबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पालुङटार नगरपालिका तत्पर रहेको भन्दै उहाँले मिडियाले स्थानीय तहमा भएका कमजोरीलाई औंल्याउँदै गर्दा आँफुहरु सच्चिन तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले स्थापन आवसरमा शुभकामना व्यक्त गर्दै पालिकाका सकारात्मक गतिविधीहरुको पृष्ठ पोषण गर्न आग्रह गर्नु भयो । सोही अवसरमा उहाँले मिडियाकर्मीहरुलाई पालिकाको नकारात्मक पक्षहरुलाई सल्लाह र सुझाव सहितको खबरदारी गर्न आग्रह गर्ने भयो । सोही अवसरमा अधिकृत भण्डारीले मिडिया भित्र पनि आन्तरिक सुद्धिकरणको आवस्यकता रहेको औंल्याउँदै पालुङटार नगरपालिका समानुपातिक रुपमा स्थानीय मिडियालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
सोही कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेजराज पाण्डेले स्थानिय सरकार र मिडियाकाबिच नङ र मासुको सम्बन्ध रहेकाले यसमा स्थानीय सरकारले गम्भिर भएर सोच्नु पर्ने बताउनु भएको छ ।
उक्त कार्यक्रमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, प्रेस युनियन गोरखाकी उपाध्यक्ष मेलिना बराम, प्रेस सेन्टर गोरखाका उपाध्यक्ष राजेश पौडेल लगाएतले मन्तव्य व्यक्तगर्नु भएको थियो । प्रेस चौतारी नेपाल गोरखाका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पालुङटार नगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली, वडा नम्बर १० का वडा अध्यक्ष रिखिराज धौराली, पालुङटार नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रेस चौतारी नेपाल गोरखाका सचिव रविकिरण रेग्मीले गर्नुभएको थियो ।









