गोरखाको गण्डकी गाउँपालिकाले आफ्नै बजेटमा गरेको सडक कालोपत्रे ‘डिबिएसटी’ प्रविधिको

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले आफ्नै लगानीमा गरेको सडक कालोपत्रे डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटी) प्रविधिमा गरिएको गाउँपालिकाका इन्जिनियर दिलिप खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारको समपूरक र गाउँपालिकाको साझेदारीमा पहिलो पटक स्थानीय सरकारको लगानीमा भएको सडक कालोपत्रे डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटी) प्रविधिमा गरिएको हो ।

कुल ७ करोड ५४ लाख २३ हजार लागतमा सिनर्जीरहोम जे.भि गोरखाले सम्झौताभन्दा करिब ३ महिना ढिला गरि निर्माण कार्य सम्पन्न गरेको थियो।

आर्थिक वर्ष २०७६/७७ मा ठेक्का लागेको यो सडक करिब ३.५ किलोमिटरको रहेको छ । गत असोजमा पालिकाको वडा नं. ६ भुम्लिचोकको आग्री डाँडादेखि कुलबेशीसम्मको सडक कालोपत्रे गरिएको थियो । आग्रीडाँडा-दलभञ्याङ्ग-रानीश्वारा-कौदी-पौवा-हटिया-कुवापानी-बतासे भञ्याङ सडक खण्डको एक खण्ड आग्री डाँडादेखि कुलबेशीसम्मको सडक कालोपत्रे गरिएको थियो ।

के हो डिबिएसटी प्रविधि ?

डिबिएसटी प्रविधिबाट सडक निर्माण गर्दा बेस र सबबेस निर्माण गरी सफा गरी बिटुमिन छर्केर प्राइमकोट गरिन्छ । त्यसपछि मोटो गिट्टी बिछाएर रोलरले पेलेर एक डेढ हप्ताको लागि छोडिन्छ ।

सवारीको चाप भइरहेमा बिटुमिन माथिसम्म आएर गिट्टीलाई राम्रोसँंग समाउँछ । यदि सवारी चाप कम भएमा गिट्टी र बिटुमिन राम्रोसँंग समाउँदैन । यसपछि बिछाएको गिट्टीमध्ये नचिप्किएको गिट्टी सोहरिन्छ र दोस्रो कोट बिटुमिन छर्केर मसिनो गिट्टी बिछाइन्छ । पहिलो कोटजस्तै दोस्रो कोटमा पनि रोलरले पेलेर केही दिनको लागि छोदिन्छ । नचिप्कएको गिट्टी झाडु लगाएर निकालिन्छ ।

यस अघि प्रसारण गरिएको गोरखाको गण्डकी गाउँपालिकाले आफ्नै बजेटमा गरेको सडक कालो पत्रे तीन महिना पनि टिकेन भन्ने समाचार लेख्दा गल्ति भएको र त्यसलाई सच्याईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको