गोरखा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि गोरखाका २ जनासहित ९ जना उम्मेदवार हुन चाहेका आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाएको छ।
निर्वाचन हुने ३ वटा क्लस्टरबार प्रत्येकका ३/३ गरेर ९ जनाको नाम प्रदेश कमिटी पदाधिकारीले छलफल गरेर बुधबार उपल्लो कमिटीमा पठाइएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए।
अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको छ।
अपांग/अल्पसंख्यकमा कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बराम र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ, स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस गरिएको छ। गण्डकीका ३ सहित कुल १९ पदका लागि माघ ११ गते राष्ट्रिय सभा चुनाव हुँदैछ।









