रबिकिरण रेग्मी, चितवन । चालु आर्थिक वर्षको नौ महिनामा दुई लाखभन्दाबढि पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्जले दिएको तथ्यांक अनुसार साउनबाट चैतसम्म २ लाख २१ हजार ५०३ जनाले निकुञ्जको अवलोकन गरेका हुन।
निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्र र ३९ हजार ४०५ जना अन्य देशका पर्यटकले निकुञ्जको अवलोकन गरेका छन । नौ महिनामा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या गत वर्षभन्दा ३१ हजार १६ जनाले धेरै हो। चितवन निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष १ लाख ९० हजार ४५८ जना पर्यटकले अवलोकन गरेका थिए। आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ८७ जनाले अवलोकन गरेका थिए।
कोभिड–१९ को असर परेपछि यो वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या निकै बढेको तिवारीले बताए ।यस वर्ष धेरै आन्तरिक पर्यटकहरू निकुञ्ज प्रवेश गरेका छन्।
निकुञ्जले यस आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ। निकुञ्जले संकलन गर्ने राजश्वको प्रमुख स्रोत पर्यटकबाट लिने राजश्व नै हो। गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो।
चितवन राष्ट्रिय निकुञ्जमा पाइने एकसिंगे गैंडा, बाटे बाघ, घडियाल गोही, गौरी गाई, चराहरूले पर्यटकलाई आकर्षण गर्ने गरेका छन्। पछिल्लो गणनाको तथ्यांकअनुसार यहाँ ६९४ वटा एकसिंगे गैंडा, १२८ वटा बाघ, ५४६ प्रजातिका चराहरू छन्। ७० प्रजाति स्तनधारी, ४९ प्रजाति सरीसृप र उभयचर, १२० प्रजातिका माछा यहाँ पाइन्छन्। चितवन निकुञ्जभित्र ४० बढी प्राकृतिक ताल, दर्जनौं कृत्रिम ताल, घोल र पोखरीहरू छन्। रिउ, राप्ती र नारायणी नदी निकुञ्ज हुँदै बग्छन्।









