गण्डकी गाउँपालिकाद्वारा एसईई दिएर बसेका विद्यार्थीहरुलाई कम्प्युटर तालिम दिन सुरु

गोरखा ।  गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएर बसेका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माविबाट दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका हुन् ।

शिक्षालाई प्रविधिमैत्री बनाउनका साथै भर्खर एसईई दिएर बसेका विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नका लागि निशुल्क कम्प्युटर तालिम दिन लागेको पालिकाका शिक्षा शाखाका प्रमुख सुदिप पन्थले बताए ।

उक्त तालिममा पालिका भित्रका रहेका आठ वटा माविका विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमा नै कम्प्युटर तालिम दिइने उनले बताए । उक्त तालिममा प्रत्येक विद्यालयबाट २० जना विद्यार्थी सहभागी हुनेछन् । तालिमपछि उनीहरुलाई प्रमाणपत्र दिइने उनले बताए । कम्प्युटर शिक्षकलाई भने पालिकाले तलब दिने उनको भनाइ छ ।

दश कक्षा उतीर्ण गरेपछि विद्यार्थीहरु बजार क्षेत्र लगायतका ठाउँमा महङ्गो शुल्क तिरेर कम्प्युटर सिक्न जानुपर्ने बाध्यत रहेकाले विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञानको विकास गर्न र पालिका भित्रका माविमा संघीय सरकारबाट अनुदानमा प्राप्त भएको कम्प्युटरको सही सदुपयोग होस भन्ने उद्देश्यले पनि तालिम संचालन गरिएको उनले बताए ।

कार्यक्रममा पालिकाका अध्यक्ष तिमिल्सिना, पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, वडा नं ७ र ८ का वडा अध्यक्षहरु तुलसी रेग्मी र कोकिल बहादुर पुलामी मगर, शिक्षा शाखाका प्रमुख पन्थ, आठ वटा माविका प्रधानाध्यापक, कम्प्युटर शिक्षा, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको