चितवन । यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ । २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार २६४ मत प्राप्त गरी यो क्षेत्रमा विजयी हुनुभएको थियो । यो संसदीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ र नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाउनुभएको थियो। उक्त निर्वाचनमा लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले भन्दा ३४२८१ बढि मत प्राप्त गरी विजय हुनुभएको थियो ।
गत माघ ६ गते सर्वोच्च अदालतले नेपालको संबिधान धारा १७२ को उपधारा २ ÷ ३ बमोजिम रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो। यो उप निर्वाचनमा बिभिन्न १२ राजनैतिक दलका १२ जना र थप १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। यो निर्वाचन क्षेत्रमा ईच्छाकामना गाँउपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिका का वडा नं १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्दछन् । निर्वाचन आयोगका अनुसार यो उपनिर्वाचनमा अघिल्लो पटकको भन्दा ४८० जना थपिएर कुल १ लाख २४ हजार ६ सय ९५ जना मतदान गर्ने पाउने छन्।
संसदीय निर्वाचनमा अनपेक्षित हार ब्यहोरेका पुराना रजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन कम्मर कसेर लागिपरेका छन्। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी अधिल्लो संसदिय निर्वाचनमा जस्तै यस पटक पनि निर्वाचनको माला पहिरिन आतुर देखिन्छ । निर्वाचनको मिति नजिकिएसँगै चितवनमा राजनीतिक सरगर्मी बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले फेरी पनि पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछानेलाई चितवन क्षेत्र नं २ को उम्मेवार बनाएको छ । बि.सं. २०३२ सालमा जन्मिएका लामिछाने पुर्व पत्रकार हुनुहुन्छ। रविले बि.सं. २०७९ असार ७ गते आफ्नै अगुवाईमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नुभएको हो । अहिले रवि लामिछाने अघिल्लो निर्वाचनमा पुग्न नसकेका कालिका नगरपालिका र ईच्छाकामना गाँउपालिका विभिन्न स्थानहरूमा पुग्ने, आफ्ना कुराहरू चुनावी सभामा राख्ने काम गरी रहुन भएको छ। सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि हुन लागेको उपनिर्वाचनमा रवि स्वयनै उम्मेदवार बन्नुभएको हो ।
नेपाली काँग्रेसमा विगतमा जस्तो उम्मेदवारका विषयमा विवाद देखिदैन्। काँग्रेसका ८८ वर्षिय जेष्ठ क्षेत्रीय प्रतिनिधि लक्ष्मण अधिकारीसहित युवा महिलाहरू घर दैलो र चुनावी सभामा बाक्लै देखिएका छन्। दिनेश कोईराला, कृष्णलाल सापकोटा, विकास कोईराला, भीम बहादुर श्रेष्ठ, मिना खरेल जस्ता कारबाहीमा परेका नेता कार्यकर्तालाई कारवाही फुकुवा तथा पार्टीका उम्मेदवारलाई सहयोग गर्नुहोला भन्ने पत्रले कार्यकर्तामा उत्साह थपेको देखिन्छ। प्रतिस्पर्धी दलहरूलाई गाली होईन आफ्ना एजेण्डा बुझाउनमा काँग्रेस कार्यकर्ता अग्रसर भएको पाईन्छ। यस पटकका उम्मेदवार जीतनारायण श्रेष्ठ नेपाली काँग्रेस चितवनका निर्वतमान पार्टी सभापति हुनुहुन्छ। चितवनको शक्तीखोरमा बि. संं. २०३६ सालमा जन्मिनुभएका श्रेष्ठ नेपाल बिद्यार्थी संघ चितवनका पुर्व अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका श्रेष्ठ राजनैतिक परिवारका सदस्य हुनुहुन्छ । उहाँका बुवा स्व बलबहादुर श्रेष्ठ पनि नेपाली काँग्रेसका नेता हुनुहुन्थ्यो ।
मतदातासँग दोहोर परिचय भएका, सवल र सक्षम उम्मेदवार जीतनारायण हुन भन्दै पार्टीले प्रसारप्रसार गरिरहेको छ । नेपाली काँग्रेसलाई नेकपा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि सहयोग गर्नेछ। स्वतन्त्र उम्मेदवार रामकृष्ण ओझाले चैत्र ३० गते एक विज्ञप्ती जारी गरी आफ्नो समर्थन नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई हुने बताएका छन् ।
नेकपा एमालले मिसन ग्रासरुट कार्यक्रम गरिरहेको छ। पार्टीका पोलिटब्युरो सदस्य गोकुल प्रसाद बाँस्कोटा बिगत २ महिनादेखि चितवनका विभिन्न कार्यक्रम ब्यस्त हुनुहुन्छ। उम्मेदवारका बिषयमा सतहमा विवाद देखिदैन । नेकपा एमालले चितवनका अध्यक्ष रहेको उम्मेदवार रामप्रसाद न्यौपाने चितवनका एक परिचित राजनीतिकर्मी हुनुहुन्छ। बि.सं. २०३४ सालमा चितवनको माडीमा जन्मिनु भएका न्यौपाने अनेरास्ववियुको अध्यक्ष हुँदै नेकपा एमाले पूर्णकालिन राजनितिमा होमिएका युवा हुनुहुन्छ।
मतदाताको विश्वास आफुलाई भएको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन संयोजक कृष्णप्रसाद भुषालले बताउनुभयो। उहाँले आफुहरू झुट कुरा नगरेको तथा तत्काल गर्न नसकिने कुरामा चुनावी रोईलो नगरेकोले मतदाताले विश्वास गर्नेमा ढुक्क बताउनुभयो। घरदैलो तथा चुनावी सभाहरू लगभग सकिएको आउँदो बैशाख ७ गते भरतपुरको गेष्टहाउस चौरमा केन्द्रीय पदाधिकारी सहित बृहत चुनावी सभाको तयारी रहेको बताउनुभयो । भुषालले पार्टीका बिरुद्ध धेरै काण्डहरू बाहिर ल्याउन खाजेपनि मतदाताले नपत्याएको दाबी गर्नुभयो।
सैद्धान्तिक रुपमा आफुहरू स्पष्ट भएको, केहि असन्तुष्ट साथीहरूको गुनासो सम्बोधन भईसकेकोले निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउन मतदाता आतुर भएको नेपाली काँग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले बताउनुभयो। चुनाव होस् वा अन्य समय आफ्ना उम्मेदवार यहिका मतदाताको सुखदुखमा सँगै रहने भएकाले यस पटक अधिल्लो पटकजस्तो यताउती नगर्ने उहाँले बताउनुभयो । अनमोल अधिकारीले भन्नुभयो, “नेपाली काँग्रेसले कारवाही गरेका नेताहरूको कारवाही फुकुवा निर्वाचन जित्ने अर्को महत्वपूर्ण कुरा हो । आरणीय नेताहरूको कारवाही फुकुवाले तल्लो तहका कार्यकर्तामा उत्साहको सञ्चार गराएको छ। राजनैतिक लिगेसी भएको, स्थानीय समस्या बुझेको उम्मेदवार भएकाले निर्वाचन जित्न कठिनाई छैन।” अधिकारीले भन्नुभयो, “प्रचार प्रसारमा अझ केही दिन बाँकी भएकाले महामन्त्रीहरू बिश्वप्रकास शर्मा, गगन कुमार थापा लागयतका केन्द्रिय नेताहरू चितवन आउने भएकाले थप मत बढ्छ ।”
गत मंसिर ४ मा जस्तो आँधी, हुरी र हुन्डरी यस पटक नआउने नेकपा एमालेका जिल्ला सदस्य एवं चितवन क्षेत्र नं २ का संयोजक पद्मपाणी सुवेदी ढुक्क हुनुहुन्छ । सुवेदीले भन्नुभयो, “पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमले पार्टीलाई शुद्धिकरण गरी थप मजबुद बनाएकाले यस पटक निर्वाचन परिणाम आफुहरूको पक्षमा आउँछ । जनस्तरमा पुगेर एमालेका नीति, बिचार र कार्यक्रम स्पष्ट राख्ने काम गरिएको छ ।” सुवेदीले भन्नुभयो, “अवसरको बाँडफाँडमा पार्टीहरू सचेत भएको आम नागरिकले महसुस गरेका छन् । मतदाताको अपेक्षा केन्द्रिय नेताहरूले सुन्नुभएको छ । यी कारणले पनि हामी यो पटक निर्वाचित हुनेमा ढुक्क छौं ।” एमालेको पक्षमा थप माहोल सिर्जना गर्न अनेम संघ चितवनले यहि बैशाख ६ गते पोखरा बसपार्कमा बृहत चुनावी सभा गर्न लागेको छ । सो सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको सुवेदीले बताउनुभयो । सोही दिन कालिका नगरपालिकामा हुने चुनावी सभामा पनि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दलहरूले आआफ्नो दाबी गरीरहेपनि नेपाल पत्रकार महासंघ चितवनका निर्वतमान अध्यक्ष राधेश्याम खतिवडा यस पटकको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताउनुहुन्छ। यस अगाडीका निर्वाचनमा निक्कै आक्रामक रवि लामिछाने यस पटक रक्षात्मक देखिनुभएको छ । अगाडीको निर्वाचनमा प्रश्नमात्र गर्ने लामिछानेलाई अहिले धेरै प्रश्नको उत्तर दिनु परेको छ। प्रतिस्पर्धीदलले युवा र परिचित उम्मेदवार उठाउनु, नेपाली काँग्रेस चितवन देखिने गरी लयमा फर्कनु, २ पटक लगातार जितेको क्षेत्रमा हारेको एमालेले आक्रामक प्रचारप्रसार तथा मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गर्नुले पनि कुनै पनि दलले भनेको जस्तो परिणाम नआउने खतिवडाको बुझाई छ। खतिवडाले भन्नुभयो, “जसले जिते पनि पहिलाको जस्तो होईन थोरै मतान्तरले मात्र जित हार हुन्छ।” ( आईएनएस–स्वतन्त्र समाचार)









