चितवन । नयाँ बर्ष २०८० को अवसरमा पर्यटकीय स्थल चितवनकै अग्लो भूमि सिराइचुलीमा मेला लाग्ने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका १ सिराइचुलीमा अवस्थित श्री सिद्ध देवि माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको हो । सिराइचुली आमा समूह र सूर्यदय युवा क्लबको आयोजनामा हुने मेलामा सांस्कृतिक कार्यक्रम पनि हुने स्थानिय किरण पुरीले जानकारी दिनुभयो । स्थानिय कलाकारहरुको प्रश्तुती रहनेछन् । मेलाको अवसरमा श्री सिद्ध देवि माई मन्दिरमा बाजागाजासहित फुलको डोली समेत भित्र्याइन्छ ।

बिहानी सूर्योदय अवलोकन सगैँ यो समयमा लाली गराँस , अइसेलु र काफलको सिजन भएको पुरीले बताउनुभयो । पुरीका अनुसार यो सिजनमा लाली गुँरास अवलोकनसगैँ अइसेलु र काफलको स्वाद लिने अवसर मिल्ने छ ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक हजार ९४५ मिटरको उचाइमा छ । यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरुका साथै हिमालका आकर्षक दृश्यहरु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् । हरेक वर्ष वैशाख १ गतेका दिन भव्य मेलासमेत लाग्ने भएका कारण नयाँ वर्षका दिन यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छन् । मेला विहानको सुर्यदयसगैँ सुरु भई दिनभर लाग्ने गर्छ ।









