भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले थाल्यो अनुसन्धान

चितवन । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिए । ‘खोजी कार्य जारी छ, अहिलेसम्म कोही पक्राउ परेको छैन,’ प्रवक्ता पण्डितले भने, ‘अनुसन्धानबाट दोषीहरु पक्राउ गरेर सरकारी कागज किर्ते तथा छाप दुरुपयोगलगायतका अन्य मुद्दामा कारबाही हुन्छ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको