चितवनले चिनेका राम न्यौपाने- बाँदरमुढे त्रासदीका पहिलो उद्दारकर्ता, ग्रासरुटबाट उठेका युवा नेता

प्रतिमा सिलवाल, चितवन । चितवन २ यो वर्ष चर्चामा छ । रवि लामिछाने ५ महिनामा दोस्रोपटक चुनावी मैदानमा उत्रिने परिस्थिति उनकै कारण बन्यो । यहि मौकामा एकाएक चर्चामा छन् राम न्यौपाने । एमालेका चर्चित नेता गोकुल बास्कोटाले राम न्यौपानेसँग पार्टी कार्यालयको ब्यानरमा खिचेको फोटो सामाजिक सञ्जालमा राखेपछि उनको बारेमा धेरैले जिज्ञासा राखेका छन् ।

राष्ट्रिय राजनीतिमा स्थापित भइनसकेका न्यौपाने चितवनको राजनीतिमा चर्चित र लोकप्रिय पात्र हुन् । २०७० र २०७४ मा लगातार एमालेले जितेको यो क्षेत्रमा पर्ने स्थानीय तहमा पनि एमाले बलियो हुँदा हुँदै रवि लामिछानेसँग पराजित भएका दुईपटकका बिजेतका कृष्णभक्त पोखरेलले नै यसपटक न्यौपानेलाई अघि सारे ।

राम न्यौपाने चितवनको माटोसँग परिचित स्थायी युवा नेता हुनु एमालेका लागि चुनावी अनुकुलताको एउटा पाटो हो । अर्कोतिर उनी चितवन २ का प्रायः सबै टोल र बासिन्दासँग परिचित हुनु अर्को सबल पक्ष हो । युवा चाहियो भन्नेहरुका लागि उनी युवा र परीक्षण नभएका नेता हुन् ।

अर्को उनलाई चिन्ने पाटो चितवना के पनि छ भने,माओवादी युद्धकालको कहिल्यै खाटा नबस्ने घाउको रुपमा रहेको बाँदरमुडे हत्याकाण्डका उनी प्रत्यक्ष साक्षीमात्र होइनन् पहिलो उद्दारकर्ता पनि हुन् । माडीका बासिन्दा न्यौपाने त्यसबेला विद्यार्थी राजनीतिमा थिए ।

उनले बाँदरमुडेमा माओवादी एम्बुसमा परेको बसका यात्रुको उद्दार गर्न अग्रभागमा रहेर भूमिका खेलेको अहिले पनि यहाँ चर्चा हुनेर्छ । आउँदो बैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा चितवन २ मा नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

समाजशास्त्र विषयमा स्नातकोत्तर न्यौपाने २६ वर्षदेखि नेकपा एमालेमा सक्रिय नेता हुन् । एमाले चितवनका अध्यक्ष उनी २०३४ सालमा तत्कालीन कल्याणपुर गाविस हाल माडी नगरपालिका- ७ मा जन्मिएका हुन् । पञ्चायतकालदेखि नै उनको परिवार राजनीतिक थियो ।

उनका दाइ अखिल पाँचौंका नेता थिए । ‘परिवारमा प्रहरी आइरहन्थे’, न्यौपाने सम्झन्छन्, ‘हाम्रो परिवार सधैंजसो प्रहरी प्रशासनको नोटिसमा परिरहने । पटक पटक प्रहरीले घरमै आएर दिने धम्कीले, दबाबले होला ममा पनि विस्तारै पञ्चायतविरोधी मानसिकता पर्दै गएछ ।’

त्यही प्रभाव होला न्यौपाने कक्षा ५ पढ्दादेखि नै तत्कालीन बाल अखिलमा संगठित थिए । २०४६ सालको जनआन्दोलनको बेला उनी कक्षा ६ मा पढ्थे । त्यही बेला उनी हरिनगर विद्यालयमा नै सहप्रारम्भिक कमिटीमा आवद्ध भए । उनलाई त्यो आन्दोलनमा मानिसहरु ‘फुच्चे कमरेड’ भन्थे ।

यसरी बढ्यो राजनीतिक यात्रा

न्यौपाने अनेरास्ववियु प्रारम्भिक कमिटीको दुई पटक इलाका अध्यक्ष भए । चितवनको माडीमा त्यो समय उच्च माध्यमिक तहको कलेज थिएन । त्यसैले उनी माध्यमिक तह सकिए पनि २०५१ सालमा उच्च शिक्षाको लागि भरतपुर आए । अनि अनेरास्ववियु जिल्ला कमिटीमा आवद्ध भएको न्यौपाने बताउँछन् ।

२०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य र २०५२ सालमा पनि जिल्ला कमिटी सदस्यकै जिम्मेवारीमा थिए न्यौपाने । २०५३ मा भएको जिल्ला अधिवेशनमा सचिवको जिम्मेवारी पाए । उनी थप्छन्, पार्टीमा निरन्तर आवद्धता देखेर होला, मलाई २०५३ सालदेखि नै पार्टीले पूर्णकालीन कार्यकर्ता बनायो ।’

त्यसपछि लगातार पार्टीको कुनै न कुनै संगठनमा सक्रिय नेतृत्वमा रहँदै आएका छन् उनी । उनी २०५५ र २०५६ साल गरी दुई पटक अखिलको जिल्ला अध्यक्ष भए । अखिलमा रहँदै २०५५ सालमा पार्टीको गाउँ कमिटी इन्चार्ज थिए । २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्जको भूमिका पनि उनले निभाएका छन् ।

२०६३ सालको अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित भएपछि उनी पार्टीको जिल्ला तहमै निरन्तर क्रियाशील छन् । नेकपा एमाले र माओवादी मिलेर पार्टी एकताबाट नेकपा भएपछि उनी नेकपा भरतपुर महानगरको अध्यक्ष थिए । नेकपा माओवादी र माधव समूह छुट्टिएपछि एमालेमा रही जिल्लाको कमाण्ड हातमा लिनेमध्ये एक हुन् न्यौपाने ।

उनले नेकपा एमाले जिल्ला सचिवालय सदस्य र बागतमी प्रदेश सदस्यको भूमिका पनि निभाए । हाल उनी नेकपा एमाले जिल्ला अध्यक्ष नै छन् ।

पुरानो र नयाँ पुस्ता जोड्ने युवा

न्यौपाने सामाजिक काममा पनि सक्रिय नेताका रुपमा चिनिन्छन् । उनले महिला र बालबालिकाको क्षेत्रमा १५ वर्षभन्दा बढी सक्रिय रुपमा काम गरेका छन् । माडीमा भएको बाँदरमुढे घटनामा पहिलो उद्धारकर्ताको रुपमा पुग्ने व्यक्ति पनि उनी नै थिए ।

२६ वर्षदेखि नेकपा एमालेको पूर्णकालीन कार्यकर्ता भएर राजनीतिक जीवन बिताएका उनी भन्छन्, ‘मैले मभन्दा माथिल्ला पुस्ता, जसले पार्टीलाई अघि बढाउन भूमिगत राजनीतिक जीवन बिताउनुभयो, उहाँहरुसँग काम गरेको छु । सँगै अनेरास्ववियुमा रहेर युवा पंक्ति, जो तत्काल ‘एक्सन’ चाहन्छन् उनीहरुसँग पनि काम गरें ।’

युवा र पाका पुस्ताको मनोभावना बुझ्न सक्ने भएकाले उनलाई यहाँका स्थानीयले पनि कुशल भूमिका निभाउन सक्ने नेताका रुपमा चिन्छन् । उनी आफूसँग समाजका युवा, आफ्नो सर्कल र पाका पुस्तालाई सम्मान र जिम्मेवारी दिएर अघि बढ्न सक्ने नीति र योजना भएको बताउँछन् ।

आफूलाई जनताको रमाइलो र दुःखमा सँगसँगै साथ दिने साथीको रुपमा चिनाउन चाहने न्यौपाने चितवनको विकास र समस्यासँग भिजेकाले मतदाताले आफूलाई मत दिने विश्वास लिन्छन् ।

उनका अनुसार राजनीतिमा समयको आवश्यकताले जिम्मेवारी आउँछ । त्यसैले अहिलेको समयमा आफ्नो नेतृत्वलाई समयको आवश्यकताको रुपमा उनी पुष्टि गर्न सक्रिय छन् ।

चितवनमा महानगर, नगर र गाउँपालिकासमेतको मिश्रित भूगोल छ । अझ चितवन २ राज्यले सीमान्तकृत तहमा राखेका चेपाङ समुदायदेखि राज्यका मूलधारमा प्रभाव पार्नसक्ने दक्ष जनशक्तिको समेत बसोबास रहेको क्षेत्र हो । यहाँको पहाडी भूगोल, जनताको अपेक्षा र आवश्यकताको फरक पहिचान गर्न सक्ने कार्यकर्ताको रुपमा उनी आफूलाई चिनाउन चाहन्छन् ।

आफू जनप्रतिनिधि भएपछि युवाहरुको आशाको केन्द्र अनि पाकाहरुको भरोसा बन्न सक्ने उनको दाबी छ । सधैं जहाँ समस्या छ, त्यहाँ पुग्ने भएकाले आफूलाई आगामी बैशाख १० गते चितवन २ का मतदाताले रोज्ने न्यौपानेको दाबी छ ।

‘सामाजिक सञ्जाल, टेलिफोन, भौतिक भेटघाटलगायतका माध्यमबाट मलाई मतदाता, शुभेच्छुकहरुले हौसला थपिरहनुभएको छ’, न्यौपाने थप्छन्, ‘कसैले टेलिफोन गरेर भन्नुभएको छ, कसैले सामाजिक सञ्जालमार्फत त कसैले भेटेर नै उत्साह दिएर चितवन २ मा मेरो नेतृत्व रोज्न खोजिरहनुभएको छ ।’-नेपाल प्रेस

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको