चितवन २: चुनावी प्रचारमा उमेदवार

चितवन । चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लागेका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुटेका छन् ।

जीतनारायण श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् । रवि र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उनको गुनासो छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा पुगेका श्रेष्ठले ‘कसैको बारेमा बोल्दा हार्दिक श्रद्धाञ्जली लेख्ने कुरामा प्रशासन गम्भिर हुनुपर्ने’ बताए । त्यस्तै उनले घण्टीप्रति लक्षित गर्दै चुनावी प्रचारमा चुनाव चिह्न बोकेर हिँड्ने कार्यको विरोध गरे ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेका रवि लामिछाने आज चितवन आउँदै छन् । स्थलमार्ग हुँदै चितवन आउन लागेका रवि इच्छाकामनाको चुम्लिङटार, कुरिनटार, लेवाटार, केबुलकार, मुग्लिङका विभिन्न कार्यक्रममा सहभागी हुने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए ।

एमालेबाट उमेदवार बन्न लागेका रामप्रसाद न्यौपाने सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् । मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार आयोजित प्रशिक्षण तथा वनभोग कार्यक्रममा सहभागी भएका न्यौपानेले चितवन २ मा गल्ति सच्याउने मौका मिलेको बताए । रविले नेपालको कानुनलाई हेप्दा चितवन २ का जनताले दुःख पाएको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको