चितवन २ को उपनिर्वाचन: कांग्रेसबाट उम्मेदवारका लागि ११ जना सिफारिस

चितवन । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १२ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार आकांक्षी ११ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

गत निर्वाचनमा पराजय भोगेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ चितवनको बैठकले उनीहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।

क्षेत्रीय कार्यसमितिको पदाधिकारीहरुको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर चितवन क्षेत्र नं २ बाट विविध कारणले कांग्रेसको कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्वसांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउतसहितका नेता कार्यकर्ताको कारवाही फुकुवाका लागि माथिल्लो निकायमा अनुरोध गरी पठाउने निर्णय भएको सभापति लामिछानेले बताए ।

गत मंसिरमा भएको संघीय निर्वाचनमा चितवन २ बाट जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फर्जी नागरिकता पेश गरी उम्मेदवार बनेर जितेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनै लामिछाने उम्मेदवार बन्ने सम्भावना छ । एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ ।

माओवादी भने आफ्नो उम्मेदवार उठाउने वा अन्य उम्मेदवारलाई सहयोग गर्ने भन्ने निष्र्कषमा पुगिसकेको छैन । आगामी चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको