चितवन । अखिल नेपाल किसान महासंघ जिल्ला समिति चितवनले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेको छ । सिपी अधिकारी जिल्ला अध्यक्ष रहेको महासंघले चितवनका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएर मलमा भएको मुल्य बृद्धि रोक्न आग्रह गरेको हो ।
संघले प्रधानमन्त्री समक्ष पठाएको ध्यानाकर्षण पत्रमा रासायनिक मलमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिई खेतीको समयमा किसानलाई हुने मलको अभाव सधैंका लागि तत्काल अन्त्य गर्न माग गरेको छ । ‘रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोकियोस् । दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सँधैका लागि अन्त्य गरियोस्,’– ध्यानाकर्षण पत्रमा भनिएको छ ।
साथै नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रममा किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी व्यवस्था गर्न पनि उनीहरुले आग्रह गरेका छन् । नेपाली कृषिलाई विदेशी तथा दलाल पुँजीपतिको हातमा जान र परनिर्भर बन्नबाट रोक्दै राष्ट्रिय कृषि तथा स्वदेशी किसानहरूको संरक्षण गर्नसमेत माग गरिएको छ ।









