चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठक पश्चात प्रशासनले सूचना जारी गर्दै विद्यार्थी संगठनहरुले आफैले ताला नफोडे सुरक्षा निकायको तर्फबाट उक्त तालाबन्दी हटाई निर्वाचन गराउने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्धारा जारी सूचनामा भनिएको छ–‘स्ववियु निर्वाचनको सन्दर्भमा क्याम्पसहरुमा लागेको तालाबन्दी हटाउन सम्बन्धिन राजनीतिक दलहरुले आ–आफ्ना विद्यार्थी संगठनहरुलाई निर्देशन गर्ने तथा सोही बमोजिम गर्न अन्य सरोकारवालाहरुलाई आग्रह गर्ने, जिल्ला प्रशासन कार्यालयबाट फागुन ३० गते विहान ६ बजेभित्र क्याम्पसहरुमा लागेको तालाबन्दी हटाउन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने र सो अवधिसम्म तालाबन्दी नहटाएमा सुरक्षाको निकायको तर्फबाट तालाबन्दी हटाई निर्वाचन प्रक्रियालाई अघि बढाइने ।’
यस्तै चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्न सो अघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरि सम्पन्न गर्न अनुरोध गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । निर्वाचनलाई सम्पन्न गर्न सुरक्षा निकायहरुबाट समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउने प्रशासन कार्यालयले जनाएको छ ।









