रबिकिरण रेग्मी, चितवन । चितवनको कालिका नगरपलिकामा मौरी पालक किसानलाई मौरी उपकरण वितरण गरिएको छ । कालिका मौरी पकेट क्षेत्रको आयोजना तथा कालिका नगरपालिकाको आर्थिक सहयोगमा मौरी उपकरण वितरण गरिएको हो ।
आज एक कार्यक्रमकाबिच कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मीले किसानलाई मौरीको घार, चिनी र फिडर वितरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाको १२ लाख सहयोग र किसानबाट १२ लाख गरि २४ लाख गरेर उपकरण वितरण गरिएको बताउँनुभयो । उहाँले कालिका नगरपालिकाभित्र उत्पादन भएका महको बजारीकरणको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रमुख रेग्मीले नगरभित्र उत्पादित मह अर्गानिक भएकोले प्रयोग गर्दिन सबै संग अनुरोध समेत गर्नु भयो ।
प्रमुख प्रशासकिय अधिकृत केशवप्रसाद उपाध्यायले नगरपालिकाले मौरीको घार वितरण, चिनी वितरण गर्दै आएको बताउँनुभयो । उहाँले अब नगरपालिकाभित्र उत्पादित महको कसरी बजारीकरण गर्ने भन्ने तर्फ हामी नगरपालिका, किसानहरु लाग्नुपर्ने बताउँनुभयो ।
नगरपालिकाका कृषि विकास अधिकृत लक्ष्मण पौडेलले मौरी पकेट क्षेत्र कार्यक्रममा समावेश भएका ६३ जना किसानलाई ५० प्रतिशत अनुदानमा चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिए जानकारी दिनुभयो । उहाँका अुसार ६३ जना किसानलाई ११९ बोरा चिनी, २८० वटा मौरीको घार र ४०० वटा चिनी खुवाउने फिडर वितरण गरिएको हो ।
असार, साउन र भदौ महिनामा बनस्पतिको फुल नफुल्ने हुँदा मौरीलाई बचाउँन चिनी पनि वितरण गरिएको थियो । कार्यक्रममा ३३ वर्ष ३ महिना ११ दिन काम गरेर अवकाश हुनुभएका कृषि विज्ञ शिवराज पौडेललाई सम्मान समेत गरिएको थियो । कालिका मौरी पकेट क्षेत्रको अध्यक्ष तेजप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बिनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत केशवप्रसाद उपाध्याय, वडा नं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कृषि अधिकृत लक्ष्मण पौडेल र मौरी पालक किसानको उपस्थिति रहेको थियो ।












