चितवन । कालिका नगरपालिका पदमपुरमा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरप्रमुख विनोद रेग्मीले कार्यक्रमको उद्घाटन गर्नु भएको हो। सो विद्यालयले विद्यार्थीहरुलाई सात समूहमा विभाजन गरि शैक्षिक सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

विद्यार्थीहरुलाई गणित शिक्षण, सामाजिक अध्ययन, कृषि बाली विज्ञान, भाषा शिक्षण, विज्ञान, बालविकास , शिक्षण शैक्षिक सामाग्री , लगायतका विभिन्न समुहमा विभाजन गरि प्रदर्शन गरिएको थियो । कृषि बाली विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले माटोको तह, गड्यौला मल बनाउने विधि, अत्याधुनिक कृषि फर्म, बिउबिजनहरुको प्रदर्शनी, बालीनालीमा लाग्ने किराहरुको नमुना लगायतको कलात्मक प्रस्तुती गरिएको थियो ।
यस्तै विज्ञान प्रदर्शनीमा ‘रेन डिटेक्टर’, वाटर पम्प, ज्वालामुखी, धारामा पानी आएको सुचना दिने यन्त्र,रकेट, स्मार्ट शहरको नमुना लगायत प्रदर्शन गरेका थिए । त्यसैगरी गणित समुहका विद्यार्थीहरुले पाईथागोरस साध्य, सम्भाव्यता सम्वन्धी खेल र अनुमान, सहि सुत्र पत्ता लागेमा बत्ती बाल्ने र गलत भए नबल्ने यन्त्र र विभिन्न ज्यामितीय आकारहरुको नमुना प्रदर्शन गरेका थिए ।

प्रदर्शनीको अवलोकन गर्दै मेयर विनोद रेग्मीले रचनात्मक र सिर्जनात्मक ढंगका क्रियाकलाप प्रयोगात्मक रुपमा निर्माण गरी प्रस्तुत शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुको बौद्विक क्षमता र ज्ञान, सिपको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कितावको भारी बोकेर मात्र विद्यार्थीले ज्ञान हासिल नगर्ने भन्दै रेग्मीले अभिभावकहरुले पनि विद्यार्थीहरुलाई सिर्जनात्मक हुन अभिप्रेरित गर्नुपर्ने बताए । विद्यार्थीहरुले आकाशमा रकेट प्रहार गरि प्रदर्शन गर्दै गरेको मेयर रेग्मीले अबलोकन गर्दै धन्यवाद दिनु भयको थियो । मेयर रेग्मीले विद्यार्थी भाइ बैनीहरुलाइ घरबाट निस्कने कुहिने र नकुहिने बस्तुलाइ पहिचान गरि कम्पोस्ट मल बनाउन र फोहोर मैला सुरक्षित ठाउमा राख्न घरमा बुवा ,आमा घरमा पनि सम्झाउन भन्नू भएको हो। सिकाइको सशक्त माध्यम मानिएको प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिन स्कुल तथा विद्यार्थीहरुले छोटो समयमा निकै नै मेहनत गरेको प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले बताए । यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरुबीच ज्ञान तथा सिप आदान प्रदान भई रचनात्मक सिर्जनसिलता वृद्धि हुने बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले आगामी दिनमा प्रदर्शनीहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउने बताए ।
शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम संयोगक शान्ति महत्तोको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । विद्यालयका शिक्षक शिव प्रसाद सापकोटाले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।









