नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा भोलि फागुन २१ देखि चैत १ गतेसम्म गैँडाकोट-२ स्थित नारायणी नदीकिनारमा महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । गण्डकी प्रदेश सरकारले घोषणा गरेको औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ । मेला मार्फत नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडरको प्रचार गर्ने कोइरालाले बताए ।
गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुर छनोट गरिएको उनको भनाइ छ । गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्य राखेको छ । ‘आर्थिक विकासको मूल आधार ः कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सव अवधिभर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा २० वा २० जनाभन्दा बढीको संख्यामा नवलपुरको देवचुली-१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा आउने व्यवसायिक संघ संस्था, आमा समूह, महिला उद्यमी टोल विकास संस्थाहरुलाई १० हजार रुपैयाँ यातायात खर्चसहित होमस्टेमा सहुलियतपूणर् बासको व्यवस्था गरिएको कोइरालाले जानकारी दिए ।
समूहमा आउने पर्यटकबाट आवाससहित प्रतिव्यक्ति सादा खाना रु. ७०० तथा मांशाहारी खाना रु. ७५० सहितको प्याकेजको व्यवस्था गरिएको कोइरालाको भनाइ छ । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । महोत्सवको भोलि दिउँसो यस क्षेत्रका संघीय सांसद प्रा डा शशांक कोइरालाले उद्घाटन गर्ने बताइएको छ । महोत्सव सुरु हुनुपूर्व गैँडाकोटस्थित भृकुटी चोकबाट झाँकीसहितको शोभायात्रा गरिने छ ।
महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले महोत्सवमा ३०० वटा स्टल रहने जानकारी दिए । औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृंगारका सामग्रीहरु महोत्सवमा बिक्री तथा प्रदर्शनी हुने भट्टचनले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुसहित दैनिक सांस्कृतिक कार्यक्रम हुने भट्टचनको भनाइ छ ।
महोत्सवको सुरक्षाका लागि सिसि क्यामेराबाट निगरानीका साथै सबै स्टलहरुको बीमा गरिएको भट्टचनले जानकारी दिए । करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको भट्टचनले बताए ।









