चितवन । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै अनेरास्ववियु चितवनले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलार्ई तीव्रता दिएको हो ।

अनेरास्ववियु चितवनका सहसंयोजक हरि आचार्यले आगामी स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न समिति गठन तथा जिम्मेवारी बाँडफाड गरेर चुनावी प्रचारलाई तीव्रता दिएको बताए । स्ववियु निर्वाचनमा तयारी तथा सहयोग गर्न नेकपा एमाले चितवनले पनि उपाध्यक्ष तथा मोर्चा फाँट प्रमुख कमल पाठकको नेतृत्वमा १५ सदस्यीय स्टेरिङ कमिटी गठन गरेको आचार्यले जानकारी दिए । चितवनमा स्ववियु निर्वाचन हुने १३ वटा क्याम्पस रहेको र हामी आफ्ना उम्मेदवारलाई सबै क्याम्पसमा जिताउने गरी लागेको उनले बताए ।
अनेरास्ववियु चितवनले स्ववियु निर्वाचन हुने क्याम्पस लक्षित गरी ५२ सदस्यीय समन्वय कमिटी पनि गठन गरेको आचार्यले बताए । स्ववियु निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाबाट सम्पन्न गर्न तथा अन्य संगठनसंग वार्ता तथा संवाद गर्न ५ सदस्यीय वार्ता कमिटी गठन गरिएको उनले जानकारी दिए । दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ सालदेखि चितवनमा हुन सकेको छैन ।









