चितवन। लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको पश्चिम चितवनको पद्मोदय युवा क्लबले यसबर्ष पनि भलिबल प्रतियोगिता गर्ने भएको छ । क्लबले २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर यो प्रतियोगिता गर्दै आइरहेको छ ।पर्यटकीय नगरी पटिहानी, पदमपोखरीस्थित क्लव परिसरमा यस वर्षपनि भलिबल प्रतियोगिता गर्दैछ । फाल्गुन ५ गतेदेखि ७ गतेसम्म क्लब परिसरमा आयोजना गरिएको पद्मोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिवल प्रतियोगिता २०७९ मा विभिन्न १६ टिम सहभागी हुने अपेक्षा क्लबले गरेको छ ।
झण्डै ४ दशकको ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
प्रतियोगितामा विजेता, उपविजेता र सेमिफाईनलिष्ट टिमले क्रमश नगद ५० हजार, ३० हजार र १०/१० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।
प्रतियोगितालाई सम्पन्न गर्न निरज पौडेल सम्योजक र निशान पौडेललाई सह- सम्योजकको जिम्मेवारी तोकिएको छ साथै विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जस अन्तर्गत प्रचारप्रसारमा विशाल भण्डारी, स्वयंसेवक परिचालनमा सुमन पौडेल, मन्च व्यवस्थापनमा अशोक गौतम, टिम व्यवस्थापनमा पवन क्षेत्री र सौगात पौडेल, सरसफाईमा प्रशन्न कार्की र प्राथमिक उपचारमा सुजन भण्डारीलाई उपसमितिको जिम्मेवारी तोकिएको छ । यस वर्षको प्रतियोगिताको स्वरुप बारेमा केही दिनमा बिस्तृत जानकारी गराईने समेत बताईएको छ । पदमोदय युवा क्लबको आयोजनामा सन्चालन हुने प्रतियोगिताको संरक्षकमा भरतपुर महानगरपालिका, प्रबर्द्धकहरुमा बागमती प्रदेश खेलकुद विकास परिषद, २२ नम्बर वडा कार्यालय र चितवन जिल्ला खेलकुद विकास समिति रहने छन् ।