चितवनको लक्ष्मी माविले कर्मचारीको विवाहमा स्कूल विदा दियो

चितवन । चितवनको एक स्कूलले कर्मचारीको विवाहका लागि भनेर स्कूलमा सार्वजनिक विदा दिएको छ । भरतपुर महानगरपालिका ४ स्थित लक्ष्मी माध्यामिक विद्यालयले आज (सोमबार) विदा दिएको हो । विद्यालयमा कार्यरत लेखापालको विवाहमा सबै शिक्षक र कर्मचारी जानुपर्ने भएपछि स्कूल विदा दिएको एक अभिभावकले बताएका छन् । तर विद्यालयले भने बर्षभरी दिइने विदाबाट कट्टा हुनेगरी सार्वजनिक विदा दिइएको जनाएको छ । विद्यालयले सार्वजनिक विदा दिएको बारे विद्यार्थी र अभिभावक अनबिज्ञ छन् ।

विद्यार्थीले सोमबार स्कूल विदा भनेर भनिएको तर किन विदा दिएको भनेर जानकारी नदिएको बताएका छन् । अभिभावक कृष्ण चापागाईँले छोरा स्कूल आएको तर विदा भनेर फकिएको बताए । उनले भने,‘स्कूल किन बन्द रहेछ भनेर बुझेको शिक्षकको विवाह भएर बन्द गरिएको भन्ने थाहा पाएँ । यो त स्कूलको चरम लापरवाही भयो ।’
विद्यालयका प्राचार्य रेशमबाबु ढकालले स्कूलले बर्षभरी दिन पाइने विदामा सट्टा विदा दिएको बताए । उनले स्कूलका कर्मचारीको विहे भएपनि यसबारे थप कुरा भन्न चाहेनन् ।

भरतपुर महानगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष अर्पण पोखरेलले आफुलाई महानगरबाट फोन आएपछि मात्रै विद्यालय बन्द भएको जानकारी पाएको बताए । विद्यालय बन्द बारे व्यवस्थापन समितिका अध्यक्षलाई बुझ्दा सबै शिक्षकलाई आज एकै पटक विदा चाहिएकोले साट्टे बिदा दिएको बताएको अध्यक्ष पोखरेलले बताए । उनले विहानै थाहा पाएको भए विद्यालय बन्द गर्न नदिने बताउँदै आउने दिनहरुमा यस्ता क्रियाकलापहरु आफ्नो वडामा हुन नदिने बताए । उनले वडाको तर्फबाट पनि विद्यालयलाई थप स्पष्टिकरण सोधिने बताए ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत तथा विद्यालय निरीक्षक ऋषिराम शर्माले विद्यालय बन्दको विषयमा अभिभावकले फोन गरेर जानकारी गराएपछि अनुगमनमा गएको बताए । ‘हामी अनुगमनमा जाँदा विद्यालय बन्द रहेछ,उनले भने’,प्रधानाध्यापकलाई फोन गर्दा व्यवस्थापन समितिका अध्यक्षसंग परामर्श गरेर बन्द गरेको जानकारी दिइएको छ तर फोनकै भरमा विद्यालय बन्द गर्न पाइँदैन । उनले विद्यालय व्यवस्थापन समितिको लिखित निर्णय महानगरपालिकालाई जानकारी नदिएसम्म स्कूल बन्द गर्न नपाइने बताए । ‘उहाँले लिखित सूचना पनि दिनुभएको छैन । व्यवस्थापन समितिका अध्यक्षलाई सोध्दा पनि लिखित निर्णय नभएको बताउनुभएको छ,शर्माले भने । विद्यालयका अभिभावकले कर्मचारीको विवाहले गर्दा विद्यालय बन्द भएको जानकारी दिएकाले स्कूललाई स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए महानगरपालिकाले कारवाही गर्ने उनले बताए । भरतपुर महानगरपालिका नगर शिक्षा समितिका सदस्य बाबुराम दवाडीले यसरी मनलाग्दी तरिकाले स्कूल बन्द गर्न नपाइने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको