चितवन । चितवन क्षेत्र नं २ बाट भारी मत ल्याएर निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भइसकेको छ । लामिछानेको नागरिकता वैध नभएको भन्दै सर्वाेच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो । सांसदमा निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीका रुपमा काम गरेको ३२ दिनमा उनको पद गएको थियो । सांसदविहिन भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । तर उपनिर्वाचनको मिति तोकिएको छैन ।
रविले प्रक्रिया पुरा गरेर पुनः नागरिकता लिइसकेका छन् । चुनाव लड्न उनी फेरि चितवन २ मा आउँछन् कि आउँदैनन् भन्ने आम चासो रहेको छ । चितवन २ सांसदविहिन हुन पुग्दा रविका प्रतिस्पर्धीहरुले विभिन्न टिप्पणी गर्न थालेका छन् । रविको राहदानी सम्बन्धि मुद्धा अझै निश्कर्षमा पुगेको छैन ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए । पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । समानुपातिक मतमा पनि कांग्रेस र एमाले रास्वपाभन्दा निकै पछाडि परेको पाइन्छ । रास्वपाले चितवन–२ मा ३५ हजार ९४५ मत पाउँदा एमालेले १६ हजार ७८४ मत पाएको थियो भने कांग्रेसको मत १२ हजार १३२ मत मात्र थियो ।
चितवन–२ मा लामिछानेको ‘हावाहुरी’ को वेगले पछारिएका अन्य उम्मेदवारको मनोविज्ञान के छ भन्ने कौतुहलता समेत धेरैमा देखिन्छ । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले उपनिर्वाचनको विषयमा राष्ट्रपतिको निर्वाचनपछि मात्रै आफु निर्णयमा पुग्ने बताउँछन् ।
‘राष्ट्रपतिको निर्वाचन सकियोस् । उपनिर्वाचनको माहोल कसरी बन्छ ? पार्टीले निर्णय गरेको अवस्थामा म उम्मेदवारी दिनसक्छु,’ उनले भने, ‘तर अब म हार्ने चुनाव लड्दिनँ । उपनिर्वाचन जित्नै पर्छ । जसले जित्छ उसैले चुनाव लड्छ । राष्ट्रपतिको चुनावपछि मैले निर्णय गर्छु ।’
लामिछानेको उम्मेदवार खारेजी भएमा दोस्रो भएको उम्मेदवार निर्वाचित हुन्छ भनेर केही वरिष्ठ वकिलबाट आफूलाई सुझाव आएको समेत श्रेष्ठ बताउँछन् । ‘कतिपय वरिष्ठ वकिलले रवि लामिछानेको उम्मेदवारी नै खारेज भयो । निर्वाचन आयोगले निर्णय नगरिदिँदा तपाईको अधिकार हनन भयो भनेका छन्,’ श्रेष्ठ भन्छन्, ‘मुद्दा हाल्नु भन्ने सुझाव पनि आएको छ । तर म नहुने कुरा गर्दिनँ । बुझेर र विचार गेर मात्र अगाडि बढ्छु । म कसैको लहैलहैमा लाग्ने छैन ।’
चितवन–२ विशेष परिस्थितिमा सांसदविहीन भएको उनको बुझाइ छ । ‘सांसदको निधन भएको अन्य केही भएको होइन । गैरनागरिकले चुनाव लड्दा आएको परिस्थिति हो । सबैसँग छलफल गरेर मुद्दा हाल्ने वा नहाल्ने निष्कर्षमा पुग्छु,’श्रेष्ठको भनाइ छ । निर्वाचनका बेला लामिछानेको उम्मेदवारविरुद्ध परेको उजुरीमाथि निर्वाचन आयोगले निर्णय नगरिदिँदा आफू सांसद बन्नबाट बञ्चित भएको उनको भनाइ छ ।
‘यस्तो हुन्छ भनेर उहाँको उम्मेदवारीविरुद्ध उजुरी हालिएको हो । तर त्यतिबेला निर्वाचन आयोगले निर्णय लिन सकेन । उम्मेदवारी खारेज गरिदिएको भए मेरो जित भैहाल्थ्यो’, श्रेष्ठले विगतलाई सम्झिए ।
‘कांग्रेसका साथीहरुसँग पनि सल्लाह गर्छु । स्थानीय प्रबुद्ध व्यक्तिसँग सल्लाह गर्छु । शिक्षक र कर्मचारीसँग पनि सल्लाह गर्छु । उहाँहरुले फेरि पनि तपाई नै चुनाव लड्नुपर्छ भनेपछिमात्रै लड्छु’, चितवन– २ मा उपनिर्वाचन हुने देखिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर आफूले भनेको श्रेष्ठले बताए ।
यता मंसिरमा तेस्रो मत पाएका एमाले उम्मेदवार कृष्णभक्त पोखरेलमा आफूले उपनिर्वाचन फेस गर्न नपाउने होकी भन्ने चिन्ता देखिएको छ । सत्ता गठबन्धनमा एमालेतिर ढल्किएको रास्वपालाई नै पार्टी नेतृत्वले उपनिर्वाचन छाडिदिने होकी भन्ने पोखरेलको मनमा परेको छ ।
उनले भने, ‘चितवन–२ का सन्दर्भमा मेरो व्यक्तिगत धारणाभन्दा पनि पार्टीकै धारणा आउँछ । त्यहाँबाट दुई पटकसम्म जितेको सांसद हुँ । तर यो पटक एउटा टेलिभिजन प्रस्तोताको पक्षमा हुईम आयो । हुईमले काम गर्यो ।’ उनका अनुसार अहिले लामिछानेको नागरिकताको विषय टुंगिएपनि राहदानीको विषय बाँकी नै छ ।
‘यस्तो अवस्थामा रविजी आफै चुनाव लड्न आउनुहुन्छ कि आउनु हुँदैन भनेर सिंगो राष्ट्रले हेरिरहेको छ । हामीले पनि हेरिरहेका छौं । जहाँसम्म मेरो कुरामा पार्टी निर्णयमा भरपर्छ । प्रतिस्पर्धामा जा भने तयार छु, नजा भने पनि तयारै छु’, उपनिर्वाचबारे एमालेभित्र परामर्श भइनसकेको उनको भनाइ छ ।
‘चुनौती दिएर मतगणना राखेको भए दोस्रो हुने व्यक्ति स्वतः निर्वाचित हुने अवस्था आउथ्यो । चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने यो अवस्था आउने थिएन,’ उनले भने । ‘पार्टीका केही नेताहरुसँग कुुरा गर्दा पार्टीभित्र यस विषयमा परामर्श नै भएको छैन भन्नुभयो । परामर्श हुँदा जिल्लाका साथीहरु र तपाईसँग परामर्श भइहाल्छ भन्ने जवाफ पाएको छु,’ पोखरेलको भनाइ छ ।
वरिष्ठ अधिवक्ता समेत रहेका पोखरेल उपनिर्वाचन हुनेमा भने ढुक्क छन् । उनी भन्छन्, ‘निर्वाचनमा दोस्रो भएको व्यक्ति स्वतः विजयी हुने अवस्था छैन । निर्वाचनको परिणाम घोषणाअघि भएको भए हुन्थ्यो । परिणाम घोषणा भइसकेपछि हुँदैन । त्यसमा विवाद नै छैन । परिणाम घोषणापछि उपनिर्वाचन गर्नुपर्छ ।’
संसदको अयोग्यता सम्बन्धि आफूहरुले कुनै चुनौती नदिएकोमा अहिले उनलाई ग्लानी भइरहेको छ । ‘चुनौती दिएर मतगणना राखेको भए दोस्रो हुने व्यक्ति स्वतः निर्वाचित हुने अवस्था आउथ्यो । चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने यो अवस्था आउने थिएन,’ उनले भने ।
यसअघि चितवन –२ मा लामिछानेको जितलाई उनी एउटा हुलहुज्जत र हावाहुरीको संज्ञा दिन्छन् । ‘कहिले काही ‘रुल अफ द ल नभइ हुल अफ द ल’ परिस्थिति पनि हामीले ब्यहोर्नु परेको छ । चितवन–२ मा हामीले त्यो ब्यहोर्नु पर्यो,’ पोखरेलको भनाइ छ ।