चितवनमा १२ जना नयाँ कुष्ठरोगी भेटिए

चितवन ।  चितवनमा  १२ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । आज  ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनले   १२ जना नयाँ कुष्ठरोगी पहिचान भएको   जानकारी दिएको हो ।

जिल्लामा अहिले नयाँ र पुराना गरी ५७ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये ४९ पुरुष, ७ महिला र १ बालबालिका रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईँले बताउनुभयो ।

उहाँका अनुसार अहिले भरतपुर महानगरपालिकामा ३७ जना, रत्ननगरमा ४ जना, खैरहनी नगरपालिकामा ३ जना, माडीमा २, राप्तिमा ७ जना, कालिकामा ३ जना र इच्छाकामनामा १ जना कुष्ठरोगी रहेका छन । उनिहरुले औषधि सेवन गरिरहेको प्रमुख चापागाईँले बताउनुभयो ।

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छँयु गर्दा रोग सर्ने सम्भावना रहन्छ ।

उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन । “मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै स्वास्थ्य अधिकृत जयराम दुवाडीले भन्नुभयो, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांशपेशीलाई कमजोर पार्छ ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खा आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन् ।

नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ । प्रत्यक वर्ष जनवरी २९ तारिकका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ । ७०औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ तय गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको