कालिका नगरपालिकाद्वारा एक हप्तामा चार सय ७७ टिप अवैध नदीजन्य पदार्थ जफत

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मी शुक्रबार शक्तिखोरस्थित कयर खोलामा भेटिए । उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायसँगै उनी कयर खोलामा भइरहेको तस्करी रोक्न त्यहाँ पुगेका रहेछन् । जेसिभीले टिप्परमा ढुङ्गा लोड गर्दै थियो । मेयर विनोद रेग्मीले त्यसको निरीक्षण तथा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको डम्पिङ खोजिरहेका थिए ।

कालिका नगरपालिकाले एक हप्तादेखि अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिएर जफत गरिरहेको छ । सात दिनदेखि सो काम निरन्तर चलिरहेको छ । मेयर रेग्मीसहितका जनप्रतिनिधिहरुले अवैध डम्पिङ खोज्ने र नदीजन्य पदार्थ नियन्त्रणमा लिने काम गरिरहेका छन् । तस्करले खोलामा लगाएको बाँध भत्काएरै नदीजन्य पदार्थ चोरी गरेको पाइएको छ । प्राकृतिक स्रोतमाथिको दोहन उत्कर्षमा पुगेपछि नगरपालिका नियन्त्रणमा कस्सिएर लागेको हो ।

सो नगरपालिकाले शुक्रबारसम्म ४७७ टिप्पर ढुङ्गा र ग्राभेल नियन्त्रणमा लिएर संकलन गर्न सफल भएको हो । आठ टिप्पर ग्राभेलसमेत जफत गरी संकलन गरिएको छ । जुटपानीस्थित वडा नं–७ को वडा कार्यालय भवनसँग जोडिएको जग्गामा नदीजन्य पदार्थ डम्पिङ गरिएको छ । शक्तिखोरस्थित कयर र सिन्ती खोलाबाट चोरी गरी नदीआसपासमा डम्पिङ गरिएको ढुङ्गा र ग्राभेल नगरपालिकाले जफत गरेको हो ।

गत पुस २९ गते सिन्ती खोलाबाट पहिलो दिन अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिन खोज्दा अवैध चोरी तस्करीमा संलग्न युवाहरु मेयर रेग्मीविरूद्ध खनिएका थिए । त्यसदिनदेखि मेयर रेग्मीलाई निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेका छन् । तर, उनको रफ्तार रोकिएको छैन ।

‘मलाई धम्कीपूर्ण फोनहरु आइरहेको छ’, उनले भने, ‘तर म कत्ति पनि विचलित भएको छैन ।’ दैनिक ५५ देखि ६० टिप नदीजन्य पदार्थ नियन्त्रणमा लिन उनी सफल भएका छन् । उनलाई उपमेयर तामाङ र प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, वडाध्यक्षहरु, सूचना अधिकारी प्रकाश पौडेलको दरिलो साथ छ । ४७७ टिप्पर नदीजन्य पदार्थ नियन्त्रणमा लिइसकेको सो नगरपालिकाले अझै करिब १०० टिप नदीजन्य पदार्थ डम्पिङ गरेको ठाउँमा रहेको जनाएको छ ।

चितवनमा राजनीतिक दलको आडमा नदीजन्य पदार्थ दोहन हुँदै आएको छ । कालिकाका मेयर रेग्मीले त्यसको पर्वाह गरेका छैनन् । ‘नदीमा भइरहेको तस्करी रोक्ने काममा मलाई कसैले अवरोध गर्न सक्दैन’, उनले भने, ‘यो अभियान हो चलिरहन्छ ।’ नदीजन्य पदार्थ राज्यको सम्पत्ति रहेको भन्दै उनले यसलाई जोगाउने कर्तव्य राजनीतिक दल तथा जनप्रतिनिधि सबैको रहेको बताए ।

उपमेयर तामाङले बाढी र पहिरो रोक्न लगाइएको बाँधसमेत फुटाएर तस्करीले ढुङ्गा लगेको बताइन् । ‘तारजाली काटेर ढुङ्गा चोरी गरिएको छ’, उनले भनिन्, ‘यस्तो कार्य टुलुटुलु हेरेर बस्न सकिएन ।’ उपमेयर तामाङले करिब १०० टिप ढुङ्गा नदीकिनारमा डम्पिङ गरिएको ठाउँमा भेटिएको र शनिबारसम्ममा ओसारेर सकिने बताइन् ।

नियन्त्रणमा लिएर सुरक्षित ठाउँमा संकलन गरिएको नदीजन्य पदार्थ बोलपत्र आह्वान गरी लिलाममा बिक्री गरिने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । ‘यो जफत गरिएको सामग्री हो’, उनले भने, ‘यो लिलाममा बिक्री गरिनेछ ।’ नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्छ । मेयर रेग्मीले नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीले वडा नं–८, ९, १०, ११ मा शिक्षा, स्वास्थ्य, खानेपानी र नदी तटबन्धमा खर्च गर्ने योजना रहेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको