रत्ननगरमा विपन्न नागरिकलाई स्वास्थ्य बिमाको पचिययपत्र वितरण

चितवन । रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचय वितरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरप्रमुख सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गर्दै निःशुल्क स्वास्थ्य बिमा फागुन १ गतेदेखि लागू हुने बताए । उनले आफूले चुनावी अभियानमा घोषणा गरेको प्रतिबद्धताअनुरुप वडा नं–३ बाट परिचयपत्र वितरणको थालनी गरिएको बताए ।

नगरपालिकाले कोही पनि स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ३५ सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको र छुटेका नागरिकको हकमा वडाका स्वास्थ्य केन्द्रले समन्वय गर्ने जानकारी दिए ।नगरप्रमुख सापकोटाले विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्ने र उपचार गराउन नसक्ने विपन्न नागरिकलाई अझै सहज बनाउन थप ३० लाख रुपैयाँको स्वास्थ्य उपचार अक्षयकोष स्थापना गरिएको बताए ।नगरपालिकाले शिक्षामा छात्रवृत्ति र कृषिमा अनुदान दिइएको बताउँदै आफ्नो अधिकार प्राप्त गर्नका लागि हरेकले चासो राख्नुपर्ने बताए । ‘जुनसुकै नगरवासीको पीरकर्मा समाधानका लागि मेयरको कार्यालय खुल्ला छ’, उनले भने, ‘नगरपालिकामा आएर प्रत्यक्ष भेटेर आफ्नो समस्या र सुझाव राख्न सक्नुहुनेछ ।’

रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–३ का सदस्य एवं निःशुल्क स्वास्थ्य बिमा संयोजक शिव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा वडाध्यक्ष खरेलले नागरिकले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमाका लागि एक करोड रुपैयाँको बजेट छुट्याइएको र सोहीअनुरुप १६ वटै वडामा विपन्न तथा सुकुमबासी नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम थालनी गरिएको बताए । यस्तै, सामूहिक खेतीका लागि पनि ५० लाख रुपैयाँको बजेट छुट्याइएकोले विपन्न किसानले यसबाट लाभ लिन आग्रह गरे ।कार्यक्रममा वडा नं ३ का स्वास्थ्य केन्द्र प्रमुख निर्दोषी घिमिरे, वडा सदस्यहरु देवी सुनार, ईश्वर जमरकट्टेल, बैशाखनी थरुनीलगायत महिला स्वास्थ्य सेविकाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको