चितवनमा मगर संस्कृति जोगाउन कौराहा प्रतियोगिता हुँदै

चितवन । नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले विहिबार पत्रकार सम्मेलन गरेर पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ६ वटा समूहले भाग लिइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि हुन चाहाने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । पुरस्कार फागुन १५ गते मगर दिवसको दिन प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । प्रथम हुनेलाई पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा नेपाल मगर संघ चितवनको प्रतिनिधित्व गरी कौराहा नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ ।

कार्यक्रम सम्पन्न गर्नको लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान संघको छ । यस कार्यक्रमको लागि भरतपुर महानगरपालिका वडा नंं. ७ ले सहयोग गरेको छ । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल मगर साँस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आले मगरले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको