चितवन । चितवनको भरतपुर महानगरपालिकाले शीतलहरको प्रभावबाट जोगिन सर्वसाधरणहरूमा सजगता अपनाउन आग्रह गरेको छ । जाडोयाम शुरु भएसँगै महानगरमा पनि शीतलहरको प्रभाव पर्न सक्ने भएकाले चिसोबाट बच्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै गोडा माथिदेखि नै बाक्लो तथा न्यानो कपडा लगाउन, कोठा न्यानो पार्न र पर्याप्त हावा ओहरदोहर हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
शीतलहरले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, महिला तथा दीर्घ रोगीहरूलाई प्रभाव पार्ने हुँदा सतर्कता अपनाउन आग्रह गर्दै आमाको दूध खाने बच्चाहरुलाई नियमितरूपमा स्तनपान गर्न तथा तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गर्न अनुरोध गरेको छ । कोठामा आगो, मकल, कोइला, हिटर बाली झ्याल ढोका बन्द गरेर सुत्दा श्वास फेर्न नसकी निसास्सिएर मृत्युसमेत हुन सक्ने भएकाले सजगता अपनाउन आग्रह गरेको छ ।
महानगरपालिकाका प्रमुख रेनु दाहालले आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछाड्न, धुम्रपान तथा मध्यपान सेवन नगर्न र स्वास्थ्यसम्बन्धी कुनै समस्या आइपरेमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क राख्न समेत अनुरोध गरेकी छन् ।
यसैगरी शीतलहरका बखत सकेसम्म घर बाहिर खुल्ला स्थानमा धेरैबेर नबस्न र शीतलहरका बखत पाल्तु पशुपंक्षीलाईसमेत असर पर्ने हुँदा सकेसम्म खुल्ला स्थानमा नराखी गोठ, टहरामै राखी प्रयाप्त घाँस,पराल, दानापानी खुवाउन पनि दाहालले आग्रह गरेकी छन् ।









