रबिकिरण रेग्मी, चितवन । १४ औँ चितवन महोत्सव पुस २५ देखि माघ ४ गतेसम्म प्रदर्शनी मैदान, नारायणी किनारमा हुनेभएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको प्रबद्र्धनमा महोत्सव हुन लागेको हो ।
आज उद्योग वाणिज्य संघ चितवनले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेलले गर्ने छन । चितवन जिल्लालाई विविधताको भुमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको उद्योग संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भने यसका लागि महोत्सव परिषरभित्र चितवनका विविधताको प्रतिनिधित्व गर्ने खालको कृतिम पार्क निर्माण गरिने छ । चितवन महोत्सवले व्यवसायीक क्रियाकलापमा भन्दा पनि कोभिड १९ र तत्पश्चात विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यामी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नँया दियो बाल्ने आशा गरिएको श्रेष्ठले बताए ।
महोत्सव अवधिभर बैंकको व्याज विरुद्धका नारा अंकित विरोध व्यानर राखेर विरोध गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिए । चितवन महोत्सवमा ४५० ओटा स्टल रहने छ । ७ ओटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसर, मेड ईन नेपाल, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० स्टल रहने श्रेष्ठले बताए । त्यस्तै खाना प्रबद्र्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभल हुने र पुस २८ देखि माघ ३ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठिहरु संचालन गरिने उनले बताए ।
यसपटकको महोत्सवमा मौरी र तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतीमा सहित तोरीबारीको निर्माण गरि कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठको भनाइ छ । चितवन महोत्सव २०७९ मा कलात्मक प्रवेशद्वारका साथै कलात्मक आकृतिहरु निर्माण गरिने श्रेष्ठले बताए ।
दश दिनसम्म संचालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक संस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी, फर्न पार्क संचालन गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणको लागि रु ६० र बिद्यार्थीको लागि रु ३० राखिएको छ । महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटक सहित करिब ५ लाखले अवलोकन गर्ने र १० दिनको अवधिमा २५ करोडभन्दा माथिको कारोवार हुने आयोजकले अनुमान गरेको छ ।प्रत्येक २/२ बर्षको अन्तरालमा विंसं २०५३ सालदेखि चितवन महोत्सव आयोजना गरिंदै आएको छ ।









