चितवनमा एक वर्षको अवधिमा १६१ वटा मानव अधिकार उल्लङ्घनका घटना

रबिकिरण रेग्मी, चितवन । चितवनमा करिब १ वर्षको अवधिमा कुल १६१ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज भरतपुरमा नेपाल मानव अधिकार वर्ष २०२२ वार्षिक पुस्तक पुर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त सङ्ख्यामा मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् ।

२०७८ पुस १७ देखि मंसिर मसान्त (२०२२ जनवरी देखि डिसेम्बर १५) सम्मको तथ्याङ्क अनुसार सो अवधिमा बालअधिकार उल्लङ्घन घटनामा ७९ बालिका र ३ बालक रहेका छन् । जसअनुसार बालिका बलात्कार प्रयासकाका घटना ५ वटा, बालिका बलात्कारका घटना ५१ वटा र बालिका यौन हिंसाका घटना २३ वटा भएका थिए । त्यस्तै बालक यौन हिंसाका घटना १ वटा र २ जना बालक अपहरण भएका थिए । सो अवधिमा ४ जना महिला र ३ जना पुरुषको हत्या भएको छ ।

उक्त अवधिमा ५५ वटा महिला हिंसाका घटना भएका छन् । जस अनुसार बहुविवाह घटना २९ वटा, बलात्कारका घटना १५ वटा र बलात्कार प्रयास ११ घटना भएका थिए । त्यस्तै आत्महत्या दुरुसाहानका ९ वटा, मानव बेचविखनका ५ वटा र हातहतियार सम्बन्धी ३ वटा घटना भएका थिए ।

इन्सेकका चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष चितवनमा मानव अधिकारका घटना बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष २०२१ मा कुल ९२ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका थिए । जस अनुसार महिला बलात्कारका १६ र बलात्कार प्रयासका ७ वटा, बालिका बलात्कारका २९ वटा, र ३ वटा बलात्कार प्रयासका घटना भएका थिए ।

सो अवधिमा २ महिला र २ जना पुरुषको हत्या भएको थियो भने उक्त वर्षमा १८ बालिका यौन दुर्व्यवहारको शिकार भएको इन्सेकले जनाएको छ । यस्तै बहुविवाहका १०, आत्महत्या दुरुत्साहनका २ वटा घटना र मानव बेचबिखनका ३ वटा घटना भएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक तथा प्रवक्ता बिजयराज पण्डितले यस्ता घटना न्यूनीकरण गर्न प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । उहाँका अनुसार सामाजिक सञ्जालको प्रभाव, दुरुपयोगका कारण पनि पछिल्लो समय समाजमा नसोचेका र अकल्पनीय घटना बढ्दै गएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, अधिवक्ता मुकुन्द दाहालको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको